बिर्तामोड । झापाको विर्तामोडमा निर्माण भएको अत्याधुनिक उपकरणसहितको ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ बुधबारबाट सञ्चालनमा आएको छ। अंग्रेजी नयाँ वर्षको अवसर पार्दै अस्पताल सञ्चालकद्वय दुर्गा प्रसाईं र इन्दिरा गिरीले संयुक्त रुपमा अस्पतालको उद्घाटन गरेका हुन्।

करिब १ विगाहा जग्गामा ४ सय करोड रुपैयाँको लागतमा अस्पतालको निर्माण गरिएको हो। विर्तामोडमा रहेको बी एण्ड सी अस्पतालको भगिनी संस्थाको रुपमा अत्याधुनिक प्रविधि सहितको निर्माण गरिएको क्यान्सर अस्पताललाई दक्षिण पूर्वी एशियाकै नमुना बनाएको कार्यकारी निर्देशक दुर्गा प्रसाईंले दाबी गरे। उनका अनुसार २१ औं शताब्दीकै अत्याधुनिक उपकरण अस्पतालले भित्र्याएको छ।

‘नेपालमै पहिलोपटक नयाँ प्रविधि भित्र्याएका हौँ,’ निर्देशक प्रसाईंले भने, ‘यो प्रविधि अमेरिका र सिंगापुरमा छ, भारतले जोड्ने तयारी गर्दैछ, त्यसैले दक्षिण पूर्वी एसियाकै नमुना भनेका हौँ।’ यो प्रविधिको मेसिने क्यान्सरका बिरामीलाई एक मिनेटमानै रेडिएसन दिनसक्ने बाताइएको छ। यो प्रविधिलाई ‘ट्र बिम लिनियर एक्सेलेरेटर’ भनिने क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर वीरेन्द्र यादवले बताए।

क्यान्सरपीडितले उपचारका लागि भारतको दिल्लीसम्म पुग्नुपरेको र धेरै खर्च लाग्ने भएकाले सहज सेवा दिन नेपालको पूर्वी क्षेत्रमा अस्पताल खोलेको कार्यकारी निर्देशक प्रसाईले बताए। ‘म आफैं क्यान्सरको रोगी भएकाले यहीँ उपचार सम्भव छ भन्ने सन्देशसहित अत्याधुनिक उपकरण राखेर अस्पताल खोलेको हुँ, भारतमा जाँदा भारु २० लाख लाग्ने उपचार हामी नेपालमा नेपाली १० लाखमानै दिन सक्छौँ’, उनले उदाहरण दिँदै भने, ‘अब क्यानसर लागेर नेपालमा कोही मर्नुपर्दैन, यसको अभियान नयाँ वर्षबाट हामीले गरेका हौँ।’

‘क्यान्सरको अवस्था जाँचका लागि ‘पेट सिटी स्क्यान’ मेसिन पनि अस्पतालमा ल्याइएको छ’ क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर वीरेन्द्र यादवले भने, ‘यो प्रविधि नेपालमै पहिलो हो, यसका लागि दिल्ली वा सिंगापुर जानुपर्ने बाध्यता अब हट्नेछ।’

बी एण्ड सी अस्पतालसँगै जोडिएको तथा एउटै समूहले लगानी गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा शल्याक्रियाका लागि पाँच मोडुलर शल्यक्रिया कक्ष पनि निर्माणकै चरणमा रहेको छ।

अस्पतालले सेवा सुरु गरेको पहिलो दिन पहिलो सेवाग्राही झापाका २८ वर्षीय पदम मिश्रलाई निःशुल्क रेडिएसन दिइएको छ भने उनको क्यानसरको सम्पूर्ण खर्च अस्पतालले बेहोर्ने अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले बताए।

‘हामीले अस्पताल सुरु गर्दा सामाजिक उत्तरदायित्वलाई पनि ख्याल गर्नुपर्छ’ उनले भने, ‘अस्पताल सुरु भएको अवसरमा हामीले एकजना बिरामीको सम्पूर्ण खर्च आफैं ब्यहोर्ने निणय गरेका हौँ।’

अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक दुर्गा प्रसाईंले अस्पताल सञ्चालनमा ठुलो लगानी गरेको र यस्तो लगानी देख्दा बाहिर हल्लामा प्रचण्डको लगानी भन्ने गरेको भन्दै आपत्तिसमेत जनाए।

‘मैले सबै लोन बैंकबाट लिएको छु, बैंकका सञ्चालक यहीँ हुनुहुन्छ, सबै ऋणमा छ, तर कहिले प्रचण्ड त कहिले ओलीको लगानी भनेर काम गर्ने हौसला रोक्न खोजिन्छ,’ उनले गुनासो पोखे।