झापा । बौद्ध धर्मावलम्वीहरुको धार्मिक संस्था टासी धार्गेलिङ्ग बौद्ध गुम्बामा बृहत धार्मिक अनुष्ठान हुने भएको छ ।

शिवसताक्षी नगरपालिका ११ स्थित गुम्बामा पुस २१ देखि २५ गतेसम्म पाँच दिवसीय धार्मिक अनुष्ठान हुने भएको हो । पर्यटन भ्रमण वर्ष २०२० को अवसरमा आयोजित सो अनुष्ठानमा नेपाललगायत भारत, भुटान, चीन, जापान, अमेरिका लगायतका मुलुकबाट बौद्ध धर्मालम्वीहरु आउने आयोजक समितिका अध्यक्ष डिके लामाले जानकारी दिए ।

विश्व शान्तिको कामना गर्ने सर्वधर्मानुरागी सज्जनलाई कार्यक्रममा आमन्त्रण गरिएको आयोजक समितिले जनाएको छ । कार्यक्रममा २५ हजार बौद्ध धर्मावलम्वी आएर आध्यात्मिक लाभ लिने आयोजकले दाबी गरेको छ । अध्यक्ष लामाले भने, ‘भगवान बुद्धको यो पवित्र भूमिबाट बुद्धका करुणामयी पञ्चशील ज्ञानका उपदेशहरुलाई फैलाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।’ विश्वमा रहेका प्राणीको रक्षाका लागि विश्व शान्तिको कामना गर्दै नेपाल सरकारको समृद्ध नेपाल र सुखी नेपाली यो अनुष्ठान महत्वपुर्ण हुने उनको भनाइ छ ।

झिलझिलेमा निर्माणाधीन टासी धार्गेलिङ्ग बौद्ध गुम्बामा प्रतिष्स्थापन गरिएको भगवान बुद्धका त्रिमूर्ति प्रतिमा सोलुबाट आउने प्रमुख लामा गुरु रिन्पोछे निमा साङवो शेर्पाले प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ । सो कार्यक्रममा सिद्धी घेटुल (शेर्पा), ज्योम्याङ टुल्कु वाङवो (शेर्पा), आचार्य खेन्पो थुप्तेन हेसे (गुरुङ) को अमृतमय आध्यात्मिक प्रवचनको कार्यक्रम तय भएको टासी धार्गेलिङ्ग बौद्ध गुम्बाका प्रमुख लामा सोनम थोकरले बताए ।

अनुष्ठानमा २१ गते त्रिमूर्ति भगवान बुद्धको प्रतिमामा प्राण प्रतिष्ठा पूजा (राप्नी), २२ गते कोन्छ्योग चिधीको अभिषेक पूजा (वाङ), २३ गते सिठोको अभिषेक पूजा (वाङ)को कार्यक्रम रहेको छ । २४ गते होछ्योगको अभिषेक पूजा (वाङ) र २५ गते आयुको विशेष अभिषेक पूजा एवं वाङ लगायत नृत्य (छ्याम) तथा समापन कार्यक्रम कार्यक्रम रहेको आयोजक समितिका सचिव जसकुमार तामाङले जानकारी दिएका छन् ।

आयोजकका अनुसार कार्यक्रममा आउने भक्तजनले आवास र भोजन पनि निःशुल्क पाउने व्यवस्था गरिएको छ । करिब २५ लाख खर्चको अनुमान गरिएको सो कार्यक्रमको स्वागत द्वार निर्माण, पण्डाल, भोजनालय र आवास गृह निर्माण भइसकेको आयोजक समितिले जनाएको छ ।