0 Shares

इलाम । इलाम सदरमुकामसँग तराई झापा जोड्ने द्रूतमार्ग सञ्चालनमा आएको छ ।

इलाम भञ्ज्याङदेखि दानाबारीहुँदै झापाको बिर्तामोड जोड्ने सडक सञ्चालनमा आएको हो । यो सडक सञ्चालन आएपछि सो क्षेत्रका स्थानीयबासी हर्षित भएका छन् ।

यस सडक इलाम नगरपालिकाको भञ्ज्याङहुँदै पुवाखोला-सोयाक, रक्से-बेलाँसे, चिसापानी-दानाबारीहुँदै झापाको बिर्तामोड पुग्न सकिन्छ । मेची राजमार्ग प्रयोग गर्दा इलामबाट फिक्कलहुँदै चारआलीबाट ८६ किमी लामो यात्रा पार गर्नु पर्छ तर, द्रूत मार्गबाट ४२ किलोमिटर दूरीमा झापाको बिर्तामोड पुग्न सकिन्छ ।

यस सडकमा साना सवारीसहित बस सेवा शुरु भएपछि स्थानीयबासी हर्षित भएका छन् भने कच्ची सडक भएकाले उति नै निरास पनि छन् । सडकमा कालोपत्रे नभइञ्जेलसम्म यसको भविष्य अन्योल नै रहने भन्दै सडकलाई कालोपत्रे गर्न आवश्यक रहेको स्थानीयबासीको भनाइ छ ।

उनीहरूका अनुसार सडकको अवस्था सुधार गर्न इलाम नगरपालिका लाग्ने हो भने इलाम सदरमुकाममा समेत चहलपहल बढ्ने छ ।

इलामबाट तराई जोड्न हाल मेची राजमार्गबाहेक गाग्रेभञ्ज्याङ, जितपुर दानाबारी सडक र इलाम माइखोलाहुँदै चिसापानी, दानाबारीबाट बिर्तामोड पुग्ने सडक सञ्चालनमा छन् ।

मङ्गलबारे र इलामबाट भएका अन्य सडकसमेत चिसापानी र दानाबारीबाट भेट्टिने भएकाले पनि यस सडकमा हाल बाक्लोरूपमा सवारी सञ्चालन हुँदै आएका छन् ।