विनोद सापकोटा,
झापा । झापाको शिवसताक्षी नगरले आफ्ना नगरमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा १ करोड ७० लाख रुपैयाँको पूर्वाधार निर्माण गर्ने भएको छ । यो योजना चालु आवको असार मसान्तसम्ममा निर्माण भइसक्नेछ ।

संघीय सरकारको संस्कृति पर्यटन तथा उड्ययन मन्त्रालयद्वारा विनियोजित पर्यटकीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत ९० लाख र शिवसताक्षी नगरसभाबाट निर्णित ८० लाख रुपैयाँमा नगरको धार्मिक तथा पर्यटकीय सताक्षीधाम र दोमुखामा पर्यटक लोभ्याउने पूर्वाधार निर्माण हुन लागेको हो । शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार शेर्माले आन्तरिक तथा वाह्य पर्यटकका लागि दोमुखा र सताक्षीधाम १ नम्बर प्रदेशको पहिलो रोजाइको गन्तव्य निर्माण हुने बताए ।

शुक्रबार नगर प्रमुख शेर्मासहित वडा नम्बर १० का अध्यक्ष कर्णबहादुर थापा, ११ नम्बर वडाका अध्यक्ष भैरवकुमार श्रेष्ठ, नगरका कार्यवाहक प्रमुख प्रसाशकीय अधिकृत उपसचिव सुरेन्द्र दाहाल, लेखा अधिकृत भिम खवास, इन्जिनियरद्वय महेश भण्डारी, कृष्ण राई र योजना शाखाबाट दिनेश लुइँटेल लगायतको टोलीले दोमुखा र सताक्षीधामको सम्भाव्यता अध्ययन गरिसकेको छ ।

नगर प्रमुख शेर्माले दोमुखामा आन्तरिक तथा वाह्य पर्यटकका लागि स्वीमिङ्ग पुल र कनकाई नदीको पश्चिमी तटीय क्षेत्रमा तटबन्धन गर्ने बताए । निर्माण भएका पर्यटकीय पूर्वाधारको सुरक्षाका लागि नदीको कटान नियन्त्रणका लागि तटबन्धन पहिलो प्राथमिकतामा रहेको नगर प्रमुख शेर्माको भनाइ छ । प्रकृतिले दिएको रमणीय दृश्य एक पटक आएर हेरेर जाने पर्यटकलाई बर्सेनि आउनयोग्य स्थान बनाउन नगरले गुरुयोजना नै बनाएर कार्य शुरु गरेको पनि नगर प्रमुख शेर्माले बताए ।

यता सताक्षीधाम क्षेत्रमा संघीय संस्कृति पर्यटन तथा उड्ययन मन्त्रालय र शिवसताक्षी नगरको ९० लाख रुपैयाँले सताक्षीधाम मन्दिर परिषरमा ब्लक बिछ्याउने र २५ फिट उचाइको शिव मन्दिर निर्माण हुने नगरपालिकाका कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र दाहालले बताए । दाहाललका अनुसार शिवजीको मूर्ति खुला आकाशमा सताक्षीधाम परिषरको पदमार्गबाटै प्र्रष्ट देख्न सकिनेगरी निर्माण हुनेछ ।

स्थानीय सरकार गठनपछि नगरका सताक्षीधाम र दोमुखा पर्यटकीय क्षेत्रमा धमाधम पूर्वाधार निर्माण भइरहेका छन् । संघीय, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा २ वर्षको अवधिमा करोडौँको योजना नगरका धार्मिक तथा पर्यटकीय क्षेत्रमा परेको नगरका प्रमुख लेखा अधिकृत भिमबहादुर खवासले बताए ।

टोलीले शिवसताक्षी नगरको ११ नम्बर वडामा निर्माणाधीन गणेशमान सिंह प्राविधिक अध्ययन प्रतिष्ठानको पनि अध्ययन अनुगमन गरको छ । प्रतिष्ठानका अध्ययक्ष सन्तोषकुमार मेयाङ्गवोले टोलीलाई निर्माणाधीन संरचनाको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए ।

यसैबीच, नगरकै अर्को धार्मिकस्थल चिल्लागढ पोखरीको स्तरोन्नतिका लागि तीनवटै तहका सरकारले उपेक्षा गरेको स्थानीयले बताएका छन् । दोमुखा र सताक्षीधाम मात्र देख्ने सरकारले चिल्लागढ पोखरीको धार्मिक र ऐतिहासिक महत्व नबुझेको स्थानीयबासीले बताएका छन् ।

विभिन्न धार्मिक ग्रन्थमा समेत वर्णन गरिएको चिल्लागढ पोखरीलाई धामको रुपमा विकास गर्न स्थानीयले सुझाव दिएका छन् । स्थानीय मेदनीप्रसाद रिजाल भन्छन्, ‘चिल्लागढ धामको महिमा सरकारले बुझ्न सकेन ।’

यता नगरप्रमुख शेर्माले चिल्लागढ पोखरीको पनि अन्य दोमुखा र सताक्षीधाम क्षेत्रकै जस्तो पर्यटकीय पूर्वाधार निर्माण हुने बताएका छन् । उनले भने ‘संघीय सरकार, प्रदेश सरकारसँग चिल्लागढ पोखरीको स्तरोन्नतिका लागि लविङ्ग भइरहेको छ, त्यसमा स्थानीय सरकारले नसघाउने भन्ने कुरै आउँदैन ।’