अर्जुनधारा । धार्मिक पर्यटनको विकास र प्राणी जगतको कल्याण गर्ने उद्देश्यले झापाको अर्जुनधारा-१० स्थित जलकन्यादेवी मन्दिरमा यही पुस २६ गतेदेखि माघ ७ गतेसम्म संगीतमय शिव महापुराण हुने भएको छ ।
विगतका वर्षहरुमा धार्मिक अनुष्ठान र महापुराण आयोजना गरिँदै आएको उक्त मन्दिरमा यसवर्ष भने धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले महापुराणको आयोजना गरिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।
महापुराणको उद्घाटन प्रथम महिला जगतगुरु शंकराचार्य हेमानन्द गिरीले गर्ने निश्चित भइसकेको शनिबार मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा मन्दिर व्यवस्थापन समितिका सचिव होमप्रकाश भट्टराईले जानकारी दिए । महापुराणको प्रमुख वाचक पण्डित नेत्रप्रसाद भट्टराई र उपवाचक पण्डित खगेन्द्र निरौला रहेका छन् । जीर्ण अवस्थामा रहेको मुल मन्दिरको पुनर्निर्माण गर्ने लक्ष्य लिएको उनले बताए । समितिले महापुराण सम्पन्न गर्न अनुमानित तीन लाख लाग्ने बताएको छ ।
महापुराण सम्पन्न गर्न पदमलाल श्रेष्ठको संयोजकत्वमा एक सय एक सदस्यीय महापुराण मूल आयोजक समितिसहित ९ वटा उपसमिति गठन गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव ओमप्रकाश भट्टराईले बताए ।
नवगठित उपसमितिमा, देवी मुखियाको संयोजकत्वमा प्रचारप्रसार, भक्ति भण्डारीको संयोजकत्वमा आर्थिक, बखतबहादुर कटुवालको संयोजकत्वमा अतिथि सत्कार, भीम मिश्रको संयोजकत्वमा बजार व्यवस्थापन, विष्णु मोक्तानको संयोजकत्वमा मञ्च व्यवस्थापन, गोमा दाहालको संयोजकत्वमा भान्सा व्यवस्थापन, यज्ञलाल श्रेष्ठको संयोजकत्वमा स्वमंसेवक परिचालन, पुष्पलाल तिवारीको संयोजकत्वमा सञ्चार माध्यम समन्वय उपसमिति, कुमार सापकोटाको संयोजकत्वमा मोटरसाइकल ¥याली उपसमिति रहेका छन् ।
महापुराण मूल आयोजक समितिका संयोजक श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बखतबहादुर कटुवाल, सञ्चार माध्यम समन्वय उपसमितिका संयोजक तिवारी, स्वयंसेवक परिचालन उपसमितिका संयोजक श्रेष्ठलगायतले महापुराणको विषयमा जानकारी गराएका थिए ।
समितिका सचिव भट्टराईले मन्दिरको पृष्ठभूमि र वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए ।