0 Shares

इलाम । वर्षासँगै लगातार परेको हिमपातले प्रदेश १ कै प्रमुख पर्यटकीय क्षेत्र सन्दकपुर पुगेका पर्यटक अलपत्र परेका छन्। छोटो समयका लागि सन्दकपुर पुगेका धेरै जसो पर्यटक यातायात संचालनको कठिनाइका कारण सन्दकपुर डाँडामै रोकिएका हुन्।

३ हजार ६३६ मिटर उचाइको सन्दकपुर डाँडा दुई दिनदेखि हिउँले सेताम्मे छ। लगातारको हिमपातले कठयांग्रिने चिसो उत्तिकै बढेको छ।

शुक्रबार बिहानदेखि लगातार हिमपात भएपछि सन्दकपुर, जौबारी, टङ्लु, कालपोखरी, छिन्टापुलगायतका क्षेत्रमा पर्यटक रोकिएको ल्याण्डरोभर एसोसिएसन मानेभञ्ज्याङका अध्यक्ष पासाङ तामाङले जानकारी दिए। उनले भने ‘दुई दिनअघि पर्यटक लिएर गएका सवारी उतै थन्किएका छन्, बाटोमा हिउँ जमेकाले आइहाल्ने अवस्था छैन।’

सन्दकपुरमा पुगेका स्वदेशी तथा विदेशी पर्यटक दुई दिनदेखिको हिमपात र वर्षाका कारण आफ्नो गन्तव्यमा फिर्न सकेका छैनन्। भारतको दाजिलिङबाट सन्दकपुर पुगेका पर्यटक पुकार भण्डारीले हिउँले सडकमा यातायत संचालन हुँन नसकेपछि रोकिनु परेको बताए। उनले भने ‘सन्दकपुर पुगेका बृद्धबृद्धा र बालबालिकालाई बढी समस्या छ। अन्य सवारी साधन नपुग्ने भएकाले सन्दकपुर जान ल्यान्डरोभरको विकल्प छैन्।’

शनिबार पनि वर्षासँगै थप हिमपात भएकाले थप समस्या भएको सन्दकपुरका होटल व्यवसायी पेमाडण्डु शेर्पाले बताए। सन्दकपुरलगायतका क्षेत्रमा तीन फुट बढी हिमपात भएको शेर्पाले बताए। ‘हिउँ पर्न रोकिए पनि एक हप्तासम्म हिउँ नपग्लिने भएकाले यातायात संचालनमा अवरोध गर्छ।’

सन्दकपुरमा स्वदेशी पर्यटकसँगै भारतको बिहार र बंगलादेशका पर्यटकको भ्रमण वर्ष सुरु भएसँगै भीड लागेको छ। उक्त क्षेत्रमा तेस्रो देशका पर्यटक पनि पुगेका छन।

छोटो समयका लागि पुगेका पर्यटक त्यहीँ थन्किएपछि हिउँमा रमाउन पुग्ने पर्यटकलाई बास बस्‍नसमेत समस्या भएको छ। कठ्यांग्रीने चिसो र डाडामा तीब्र गतिमा चल्ने हावाका कारण पर्यटक घर बाहिर निस्कनसमेत सकेका छैनन। थोरै संख्यामा डाँडामा रहेका होटललाई पर्यटक अटाउनसमेत समस्या छ। छोटो समयका लागि थोरै तयारीमा सन्दकपुर पुगेका पर्यटकको बसाइँ लम्बिएपछि उनीहरूलाई थप समस्या भएको छ।

भारतीय बाटो प्रयोग गरी सन्दकपुर पुगेका बंगलादेशका पर्यटक सबैभन्दा बढी प्रभावित भएको होटल व्यवसायी संघ इलामका अध्यक्ष देवी पौडेलले बताए।

पर्यटकीय क्षेत्र सन्दकपुरमा असोजदेखि जेठ महिनासम्म पर्यटकको घुइँचो लाग्‍ने गरेको छ। सूर्योदयको दृश्यावलोकन गर्न, दर्जनौँ हिमालको दृश्य अवलोकन गर्न र हिउँ खेल्नका लागि पर्यटक सन्दकपुर पुग्ने गरेका छन।