झापा । विश्वका प्राणीको रक्षा र दिंवगत आत्माको शान्तिको कामना गर्दे झापाको शिवसताक्षीमा आयोजित एक धार्मिक कार्यक्रममा मुलुकभरका लामा गुरुहरु भेला भएका छन् ।
स्थानीय शिवसताक्षी नगरपालिका वडा नम्बर ११ झिलझिलेस्थित टासी धार्गेलिङ बौद्ध गुम्बामा मुलुकभरका लामाहरु शान्तिको कामना गर्दे ध्यान गरिरहेका छन् । आयोजकका अनुसार तामाङ समुदायको यो धार्मिक कार्यक्रम प्रदेश नम्बर १ मा हालसम्मकै ठुलो हो ।
गुम्बामा बौद्ध धर्मावलम्वीहरुको ठुलो भिड छ । पुस २१ देखि २५ गतेसम्म पाँच दिवसीय धार्मिक अनुष्ठान भइरहेको छ । मंगलबार दुई दिनमै करिब १० हजार बौद्ध धर्मावलम्वीहरु गुम्बामा ध्यानका लागि आएको आयोजक समितिका अध्यक्ष डिके लामाले जनाए ।
पर्यटन भ्रमण वर्ष २०२० को अवसरमा आयोजित सो अनुष्ठानमा नेपाललगायत भारत, भुटान, चिन, जापान, अमेरिका लगायतका मुलुकबाट बौद्ध धर्मावलम्वीहरुको सहभागिता रहेको छ । अष्ट्रेलियामा भइरहेको विनासकारी आगलागीमा परी मरेका प्राणीको आत्माको शान्तिका लागि कार्यक्रमको उद्देश्य रहेको लामा गुरु खेम्वो शेर्पाले जानकारी दिए ।
‘विश्वका सबै जीव एउटै हुन, चाहे मानिस होस् वा अरु कुनै जीव । सबै दिवंगत आत्माले शान्ति पाऊन् भनेर यो कार्यक्रम आयोजना गरिएको हो, प्राणी जन्मछ, अनि मर्छ, यो असत्य होइन तर, कुनै पनि प्राणीले अकालमै ज्यान गुमाउनु हुँदैन’, शेर्पाले भने, ‘उसले प्राकृतिक मृत्युवरण गर्नुपर्छ ।’
आयोजक समितिका अध्यक्ष लामाका अनुसार भगवान बुद्धको यो पवित्र भूमिबाट बुद्धका करुणामयी पञ्चशील ज्ञानका उपदेशहरुलाई फैलाउन कार्यक्रम आयोजना गरिएको हो । झिलझिलेमा निर्माणाधीन टासी धार्गेलिङ्ग बौद्ध गुम्बामा प्रतिस्थापन गरिएको भगवान बुद्धका त्रिमूर्ति प्रतिमा सोलुबाट आएका प्रमुख लामा गुरु रिन्पोर्छे निमा साङवो (शेर्पाले प्राणप्रतिष्ठा गरेका छन् ।
कार्यक्रममा सिद्धी घेटुल (शेर्पा), ज्योम्याङ टुल्कु वाङवो (शेर्पा), आचार्य खेन्पो थुप्तेन हेसे (गुरुङ) को अमृतमय आध्यात्मिक प्रवचनका कार्यक्रम भइरहेको टासी धार्गेलिङ्ग बौद्ध गुम्बा कार्यक्रम आयोजक समितिका सचिव जसकुमार तामाङले बताए ।
कार्यक्रम संघीय सांसद एलपी साँवा लिम्बू, प्रदेश सांसद झलकबहादुर दर्लामी मगर लगायत प्रशिद्ध लामा गुरुको सहभागितामा शोभा यात्रासहित उद्घाटन भएको थियो ।