विनोद सापकोटा,
झापा । रतुवामाई वृक्षारोपणको वन हातामा साल जातको हरियो रुख कटान गरिरहेको अवस्थामा बुधबार राति झापाको शिवसताक्षीबाट १ जना तस्करलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय झिलझिले, सशस्त्र प्रहरी र आयोजनाका वन हेरालुको संयुक्त गस्ती टोलीले शिवसताक्षी ११ बस्ने ३८ वर्षीय पुर्णबहादुर तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।
झिलझिले—सताक्षीधाम सडकको बायाँतर्फको वनमा काठ काटिरहेको आवाज वन हेरालुको टोलीले सुनेपछि तस्कर पक्राउका लागि उनीहरुले थप सहयोग प्रहरीसँग लिएका थिए । प्रहरीसहितको टोलीले चारैतिरबाट घेरा हाल्दा तामाङलाई काठ काट्ने आरासहित पक्राउ गरिएको हो । तामाङसँगै तस्करी गरिरहेका अन्य ४ जना भाग्न सफल भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
प्रहरीले २३.३० क्युफिट काठको गोलिया र ४ थान साइकलसमेत बरामद गरेको छ । बरामद गरिएको काठ, साइकलसहित तामाङलाई प्रहरीले सेक्टर वन कार्यलय सुरुङ्गामा बुझाएको छ । वन कार्यालयका अनुसार तस्करबाट बरामद भएको काठको बजार मुल्य ८८ हजार छ । दुई साताअघि मात्र सोही क्षेत्रमा प्रहरीले भरुवा बन्दुक बरामद गरेको थियो ।