झापा । अर्जुनधारा-७ मा अमित खम्बूको घरहुँदै गोसहट्टी जाने बाटोमा नाला निर्माण सम्पन्न भएको छ ।

वडाले गतवर्षको योजनालाई नै यसवर्ष पनि निरन्तरता दिएको हो । यसवर्षको योजनाको इस्टीमेट अनुसार ५७ मिटर लामो नाला निर्माण गर्न गत मंसिर २७ गते सम्झौता भएको उक्त योजना अन्तर्गत निर्माण सम्पन्न भएको नालाको सार्वजनिक सुनुवाई बुधबार सम्पन्न भएको हो ।

योजनाको लागि चालु आर्थिक वर्षमा ७ नम्बर वडाबाट दुई लाख विनियोजन भएको र उपभोक्ता समितिबाट २० हजार १३ रुपैयाँ संकलन भएको समितिका अध्यक्ष राजेन्द्रबहादुर धिमालले बताए ।

इस्टीमेटमा उल्लेख भएको लम्बाइभन्दा १० मिटर बढी काम भएको उक्त नाला निर्माणको कार्य गत पुस ४ गतेदेखि सुरु भई पुस १८ गते सम्पन्न भएको समितिका सचिव अशोक राईले जानकारी दिए ।

अध्यक्ष धिमालको अध्यक्षतामा आयोजित कार्यक्रममा सचिव राईले दुई लाख २० हजार तीन सय रुपैयाँ बराबरको आय–व्यय विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वडा पूर्वाधार समितिका संयोजक एवम् वडा सदस्य देवकुमार राई, वडा सदस्य ऐतराज नेम्वाङ, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शीलगायतको आतिथ्यता रहेको थियो ।