काठमाडौं । उपत्यकासहित देशभर हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार बेलुकाबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशैभरि बदलीसहित वर्षा तथा उच्च पहाडी र हिमाली भू-भागमा हिमपात भइरहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो ।

शुक्रबार देशका पश्चिमी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहने तथा बाँकी स्थानमा सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र उच्च पहाडी तथा हिमाली भेगका अधिकांश भू–भागमा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमानले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आगमी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेकाले यसकै कारणले जाडो बढ्ने हुनाले चिसोबाट जोगिन आग्रह गरेको छ ।

शनिबार देशका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने औँल्याएको छ ।