शान्तिनगर । झापाको बुद्धशान्ति गाउँपालिका ४ मा रहेको पानीघट्टामा डिप बोरिङको शिलान्यास गरिएको छ । प्रदेश सरकारको भूमिगत जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको आर्थिक सहयोगमा पानीघट्टामा डिप बोरिङ खन्ने कार्यको शिलान्यास गरिएको हो ।

डिप बोरिङको शिलान्यास झापा क्षेत्र नम्बर १ का सांसद गोपालचन्द्र बुढाथोकीले गरेका हुन् भने शिलान्यास कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मिरा भुर्तेल, माथिल्लो पानीघट्टा किसान जल उपभोक्ता समितिका अध्यक्ष चन्द्रप्रसाद पौड्याल, सचिव यामप्रसाद कट्टेल, कोषाध्यक्ष धान्यप्रसाद खतिवडा, जग्गादाता रुद्रबहादुर आलेमगर, वडाध्यक्ष बुद्धिमान लिम्बू, वडा सदस्य दुर्गा पाख्रेल ढुङ्गेल, नेकपा वडा इन्चार्ज गोपीकृष्ण दाहाल, सहइन्चार्ज रुद्र भण्डारी, श्यामवीर लिम्बू, प्रकाश भण्डारीलगायतको उपस्थिति थियो ।

कार्यक्रममा सांसद बुढाथोकीले डिप बोरिङको काम सफलतापूर्वक सम्पन्न गर्दै त्यहाँका किसानले अत्यधिकरुपमा पानीबाट भूमि सिँचित गरी कृषि उत्पादनमा जोड दिन आग्रह गरे । उनले तीनैवटा सरकारले कृषिमा विशेष जोड दिएको बताउँदै उत्पादनशील कृषिक्षेत्रमा लगानी गर्न आतुर रहेको पनि बताए ।

डिप बोरिङबाट उक्त ठाउँका ४५ घरपरिवारका करिब ६० विगाह जमिनमा सिँचाइ उपलब्ध हुनेछ ।

भूमिगत जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय विराटनगरको १९ लाख ४७ हजार ९६१ रुपैयाँ, माथिल्लो पानीघट्टा किसान जल उपभोक्ता समितिको ३ प्रतिशत श्रमदान र आर्थिक ४९ हजार ५९५ रुपैयाँ सहयोगमा उक्त डिप बोरिङको काम शु्रु गरिएको श्याम कट्टेलले जानकारी दिए ।