झिलझिले । झापा निर्वाचन क्षेत्र नम्बर ४ प्रदेशसभा (क) का सांसद झलकबहादुर दर्लामी मगरले समाजका हरेक नागरिकको मेलमिलाप र अमनचयन रह्यो भने विकास निर्माणले गति लिने बताएका छन् ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ८ को कल्याण चोकमा कल्याणेश्वर शिवालय मन्दिर विकास समितिले आजदेखि सुरु गरेको श्रीमद् भागवत धन धान्याचल महापुराणको उद्घाटन गर्दै कल्याण चोकका जनताको सेवा सुविधाको कल्याण गर्न आफू निर्भिक भएर अघि बढ्ने बताए ।
उनले स्थानीयले कल्याणेश्वर मन्दिर निर्माण गरेर मानव एकताको परिचय स्थापित गरेको भन्दै यहाँका स्थानीयको सामाजिक कामकाजका लागि कोही कसैले जग्गा दान गरे त्यसमा सामुदायिक भवन निर्माणमा आफू लागिपर्ने बताए ।
पुराण आयोजक मुल समारोह समितिका अध्यक्ष देवीबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा गोलोक गोवद्र्धन गौशालका अध्यक्ष आचार्य नन्दकिशोर भारद्वाजले आफ्ना भनाइ राखेका थिए ।
आयोजक समितिका प्रचारप्रसार समितिका संयोजक टेकनाथ सिवाकोटीले स्वागत गरेको कार्यक्रममा जग्गादाता प्रेमकुमारी बस्नेतलाई प्रदेश सांसद मगरले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
सप्ताह ज्ञान महायज्ञको पण्डित आचार्य राजु गजुरेलले भागवतको व्याख्या गर्ने भएका छन् । उनलाई अर्का युवा पण्डित मदनमोहन अधिकारीले साथ दिने आयोजक समितिले जनाएको छ ।