अमित खम्बू,
अर्जुनधारा । पाठेघरमा भएको क्यान्सरका कारण हाल भक्तपुरमा उपचाररत् झापा अर्जुनधारा–३ खुदुनबारीका ४० वर्षीया वेदी भूजेल (कुमारी)को सहयोगको लागि बचाउ अभियान सञ्चालन गरिने भएको छ ।

गत पुस २२ गते डम्बरकुमारी अधिकारी (इन्दिरा)को संयोजकत्वमा गठन भएको ११ सदस्यीय समितिको पहलमा सो अभियान सञ्चालन गरिने सोमबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।

छ महिनाअघि पाठेघरबाट अत्यधिक रक्तस्राव भएपछि स्वास्थ्य परीक्षणकोे लागि भद्रपुरस्थित मेची अस्पतालमा पुगेकी उनलाई अस्पतालले क्यान्सरको शंका गरी थप परीक्षण गर्न भरतपुर क्यान्सर अस्पताल पठाएको आफन्त रामबहादुर खवासले बताए । सो अस्पतालमा भएको परीक्षणबाट तेस्रो अवस्थाको क्यान्सर पत्ता लागेपछि तीन महिनासम्म सोही अस्पतालमा उपचार गराएकी उनको हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको आफन्त खवासले बताए ।

सामान्य आर्थिक अवस्थाकी भूजेलको उपचारमा हालसम्म १० लाख खर्च भइसकेको र थप उपचारका लागि अनुमानित १५–२० लाख लाग्ने समितिकी संयोजक अधिकारीले जानकारी दिइन् । “उपचारको क्रममा दुई कठ्ठा जमिन सकिएको र अब घरभिटामात्र बाँकी रहेको छ’, उनले भनिन्, ‘सहयोग नजुटाउने हो भने घरभिटा पनि बेच्नुपर्ने अवस्था आउने सम्भावना छ ।

हाल बिरामीको अवस्थामा केही सुधार भएको आश्वासन चिकित्सकबाट पाएको उनका श्रीमान वेदप्रसादलाई उद्धृत गर्दै समितिका सचिव यामबहादुर मगरले बताए । अभियान अन्तर्गत हालसम्म २८ हजार संकलन भएको र आवश्यक सहयोगको लागि समितिले सम्बन्धित निकाय, विभिन्न संघसंस्था र दाताहरुसँग समन्वय गर्ने सचिव मगरले जानकारी दिए ।

कार्यक्रमका सहभागी अर्जुनधारा–२ वडा समितिका अध्यक्ष रघुनाथ खनाल र नगर कार्यपालिका सदस्य खिनमान दासले वेदी भूजेलको सहयोगको लागि नगरपालिकामा छलफल गर्ने, आवश्यक सिफारिससँगै माथिल्लो स्तरका सम्बन्धित निकायसँग समन्वय गर्न पहल गर्ने संयुक्तरुपमा प्रतिवद्धता व्यक्त गरेका छन् ।
१९ वर्षीया छोरी एलिसा र १७ वर्षीय छोरा निकेशका अभिभावक उनलाई सहयोग गर्न चाहने संघसंस्था तथा महानुभावले ग्लोबल आईएमई बैंकको खाता नम्बर ५८०७०१०००६७०७ मा सहयोग रकम जम्मा गर्नसक्ने तथा ९८१५९६६१६२, ९८१३६०१८६३ र ९८४२६६६३२१ मा सम्पर्क गर्न समितिले अनुरोध गरेको छ ।

सार्की परिवारलाई सहयोग गर्न अपिल
अस्पतालले उपचार सम्भव नहुने भनी घर फर्काएको अवस्थामा झापा अर्जुनधारा-३ का वीरबहादुर सार्कीको परिवार हाल पीडामा रहेको छ ।

प्यारालाइसिस भएपछि दैनिक औषधिको भरमा रहेकी ६६ वर्षीया आमा नरमाया, ३४ वर्षीया बेरोजगार श्रीमती सुनिता, १६ र ७ वर्षीया छोरी र ३ वर्षको छोराको एकमात्र सहारा वीरबहादुर ओछ्यानमा थलिएपछि सार्की परिवारलाई बिहान र बेलुकाको छाक टार्न मुस्किल भएको छिमेकी कमलप्रसाद दाहालले बताए ।

तिहार अघिसम्म काठमाडौंमा निर्माण मजदुरका रुपमा काम गरी परिवार धान्दै आएको उनी तिहारको बिदामा घर आएपछि रोगको लक्षण देखापरेको श्रीमती सुनिताले बताइन् । सुरुमा नाकबाट रगत देखापरेको र पछि ऐंजेरु पलाएको अवस्थामा उनको उपचारको लागि सार्की परिवार बिर्तामोडको तारा होमियोहुँदै विराटनगरको नोवेल अस्पतालसम्म पुगेका थिए ।

नोवेल अस्पतालबाट क्यान्सरको शंका भइ स्वास्थ्य परीक्षणको लागि भरतपुर क्यान्सर अस्पताल जान सुझाएको वीरबहादुरलाई भरतपुर क्यान्सर अस्पतालले बिरामीलाई घरै लान भनेपछि एक हप्ताअघि घरमा ल्याइएको श्रीमती सुनिताले बताइन् ।

छिमेकी कमलप्रसाद दाहालका अनुसार उनको उपचारका लागि नोबेल पठाउने क्रममा पनि छिमेकीहरुको नेतृत्वमा विभिन्न संघसंस्थासँग समन्वय गरी उपचार खर्च जुटाएर पठाइएको थियो । वीरबहादुरको उपचारमा हालसम्म डेढ लाख खर्च भएको बताइएको छ ।

सम्पत्तिको नाममा दुई कठ्ठा ऐलानी जमिन र सामान्य घरमात्र रहेको सार्की परिवारलाई उपचार गर्दा लागेको ऋणका कारण उठिबास हुने चिन्ता भएको भवानीप्रसाद अधिकारीले बताए । सोमबार सार्की परिवारको घरमा पुगेको सञ्चारकर्मीहरुसँग सम्बन्धित निकायले उनको बेरोजगार श्रीमतीका लागि रोजगारसँगै छोराछोरीको लागि उच्च शिक्षा प्रदान गर्ने वातावरण तयार गरिदिन छिमेकीहरुले आग्रह गरेका छन् ।