कमल रिमाल,
विराटनगर । नेपाली सेनाको उपसेनानी (लप्टन) बताउँदै नक्कली परिचयपत्र लिएर हिंड्ने एक युवकलाई बुधबार साँझ विराटनगर विमानस्थलबाट सेनाले पक्राउ गरेको छ ।

सुनसरी दुहबी ३ घर भएका शुभमविक्रम चन्द (२२) लाई सुराकीका आधारमा पक्राउ गरी प्रहरीलाई बुझाइएको सेनाले जनाएको छ । २०७४ सालमा प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकुमारी चौधरीको चुनाव प्रचारका क्रममा पक्राउ परी रु १ लाख ५० हजार धरौटीमा छुटेका उनी पुनः पक्राउ परेका हुन् ।

सेनाको मोरङस्थित थलाहा गणका सहसेनानी खड्ग निरौलाका अनुसार, विमानस्थलमा चन्दको क्रियाकलापका बारेमा सूचना आएको थियो । सेनाले सोधपुछका क्रममा सैनिक निर्देशनालयको प्राड (कानून महाशाखा) मा कार्यरत रहेको चन्दले बताएका थिए ।

चन्द विराटनगरबाट यती एयरको जहाजबाट काठमाडौं जान विमानस्थल गएका बेला सेनाको सुरक्षा पोष्टमा पुगेका थिए । आधा चिया पिएरै शौचालय जाने भन्दै हिंडेका उनी नफर्किएपछि खोजी भएको थियो । उनले विमानस्थलमा टिकट जाँच गर्ने ठाउँमा सेनाको नक्कली परिचयपत्र देखाएका थिए ।

सेनाको सोधपुछका क्रममा चन्दले आफू उपरथी ईश्वर हमालको छोरीपट्टिको नाति बताएका थिए । उनले आफू १ नम्बर बाहिनी अड्डा काठमाडौंमा कार्यरत रही बिदामा रहेको बताएका थिए ।

उनको साथबाट नक्कली परिचयपत्र पनि फेला परेको छ । मोरङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाका अनुसार, पक्राउ परेका चन्दले एकै पटक तीनवटा नक्कली परिचयपत्र बनाएको खुलेको छ । यसअघि पक्राउ पर्दा प्रयोग गरेको परिचयपत्र भन्दा यसपटक फेला परेको परिचयपत्रका नाममा केही फरक रहेको बताइएको छ ।

प्रहरीको नक्कली परिचयपत्र बनाएर ठगी गर्ने ब्यक्तिहरू फेला पर्ने क्रममा सेनाकै नक्कली अधिकृत फेला पर्नुले नेपालका गोप्य सूचना बाहिरका देशमा जानसक्ने नेपाली सेनाको अनुमान छ । २०७४ मा चन्द पक्राउ पर्दा उनलाई नक्कली परिचयपत्र बनाएर दिने ब्यक्ति पनि पक्राउ गरेर रु २५ हजार धरौटीमा छुटेको प्रहरीले बताएको छ ।

चन्दका बारेमा अनुसन्धान थालिएको र कारवाहीका लागि तयारी गरिएको थापाले बताए । केही वर्षअघि मात्रै मोरङको रंगेलीस्थित नेपाली सेनाको वेस क्याम्पमा गएर अनावश्यक सुविधा माग्दै आफूलाई सहसेनानी बताउने एक युवकलाई सेनाको सहयोगमा प्रहरीले पक्राउ गरेको थियो ।

सेनाको अधिकृत पदमा फेल भएपछि सोही समयमा सेवामा प्रवेश गरेका युवाहरूको नाम बताएर सैनिक क्याम्पमा सुविधा लिंंदै हिंड्ने युवक पक्राउ पछि कारवाहीमा परेका थिए । हिमाल खबरबाट