0 Shares

झापा । पत्रकार चन्दा भट्टराई वीरता लेडी जेसीज पत्रकारिता प्रोत्साहन पुरस्कार २०१९ बाट सम्मानित भएकी छिन् ।

झापाको बिर्तामोडमा बिहीबार वीरता लेडी जेसीजको १५ औं पदस्थापन कार्यक्रममा सूर्योदय टेलीभिजनकी समाचारवाचिका भट्टराईलाई सञ्चार क्षेत्रमा रही सेवा पुर्याएको भन्दै संस्थाले नगदसहित सम्मानपत्रले सम्मान गरेको हो । उनलाई नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अशोक शंकर, वीरता लेडी जेसीज सन् २०१९ की अध्यक्ष सरु भुर्तेल र संस्थापक अध्यक्ष शारदा रिजालले संयुक्तरुपमा सम्मानपत्र र नगद प्रदान गरेका थिए ।

यसैगरी लेडी जेसीजका संस्थापक अध्यक्ष शारदा रिजालले आफ्ना दिवंगत आफन्तको स्मृतिमा स्थापित यज्ञतीर्थ अवार्डबाट कलाकर्मी कविता नेपाल पोर्तेललाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा बर्षोत्कृष्ट जेसी संगिता गिरी, शाखा सम्पादक हिमा पौडेल, विज्ञापनदाता सानो संसार प्रालिलाई समेत सम्मान गरिएको थियो ।

यसैबीच लेडी जेसीजको १५ औं पदस्थापनबाट सन् २०२० को अध्यक्षमा सर्वसम्मत चयन भएकी सुष्मा भण्डारीलाई सन् २०१९ की अध्यक्ष सरु भुर्तेलका गलामा लगाइएको जेसीज चेन संस्थाका पूर्व अध्यक्षहरुले २०२० की अध्यक्ष भण्डारीको गलामा पहिर्याएर पदस्थापन गराएका थिए ।

नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अशोक शंकरको प्रमुख आतिथ्यतामा सम्पन्न पदस्थापन कार्यक्रममा प्रमुख अतिथि शंकर, नेपाल जेसिजका थिम डाइरेक्टर मनिष सूर्य मगर, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, पूर्व अध्यक्षका तर्फबाट राधा सुब्बा, कञ्चनजंघा एफएमका प्रवन्ध निर्देशक चन्द्र भण्डारी, वीरता जेसीजका पूर्वअध्यक्ष राजकुमार पोखरेल, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईलगायतले शुभकामना मन्तब्य राखेका थिए ।