0 Shares

भद्रपुर । केही दिनदेखि तराईमा शीतलहरले जनजीवन कष्टकर बन्न थालेपछि झापाका विभिन्न स्थानमा आगो बाल्न थालिएको छ ।

झापाको सदरमुकाम भद्रपुर नगरपालिकाको विभिन्न वडामा ठाउँ–ठाउँमा आगो बाल्ने व्यवस्था मिलाएको छ । विपन्न तथा गरिबहरुलाई लक्षित गरी ठाउँ–ठाउँमा आगो बालिएपछि सर्वसाधारणलाई केही राहत पुगेको छ ।

मुख्यरुपमा बिहान र बेलुका बाक्लो हुस्सु लागेर चिसो बढ्दा सो समयमा आगो ताप्ने व्यवस्था मिलाइएको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बुधबार बिहान भद्रपुर नगरपालिका ९ नम्बर वडा कार्यालय र प्रहरी चौकी घोडामाराले आगो ताप्ने व्यवस्था गरेको छ ।

भद्रपुर नगरपालिकाभित्र रहेका सामुदायिक वनहरूसँगको सहकार्यमा वडाका विभिन्न स्थानमा दाउरा उपलब्ध गराइएको छ । वडाका टोल विकास संस्थाहरूलाई दाउरा उपलब्ध गराइएको ९ नम्बर वडा सदस्य नूतन पौडेलले बताउनुभयो ।

प्रहरी चौकी घोडामाराका प्रहरी सहायक निरीक्षक टीका पराजुलीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय नागरिक समाज, वडा कार्यालय र वन उपभोक्ता समूहसँग सहकार्य गरेर विभिन्न टोल, सार्वजनिक स्थल, सुकुम्वासी बस्ती, आदिवासी समुदायको बसोबास रहेको बस्ती पहिचान गरेर आगो बाल्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।