अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा वडाको बजेटबाट निर्मित कालोपत्रे सडकमा लागत इस्टिमेटअनुसार काम नभएपछि सम्बन्धित कामदारलाई बोलाएर मापदण्डअनुसार काम गर्न निर्देशन दिइएको छ ।

अर्जुनधारा ८ स्थित शितलादेवी मार्ग सडक कालोपत्रे निर्माणका क्रममा सडक मापदण्डअनुसार नभएको पाइएपछि नगरस्तरी अनुगमन समितिले लागत इस्टिमेटअनुसार काम गर्न निर्देशन दिएको हो ।

अर्जुनधारा ७ को गढीगाउँ नजिकबाट उत्तरतर्फ जाने बाटोमा अर्जुनधाराको ८ नम्बर वडाले ३ सय मिटर कालोपत्रे सडक निर्माण गर्नका लागि बजेट विनियोजन गरेको थियो ।

वडाको १५ लाख र स्थानीय उपभोक्ताको एक लाख ५० हजार ५०८ रुपैयाँ ६२ पैसा गरी १६ लाख ५० हजार ५०८ रुपैयाँ ६२ पैसामा कालोपत्रे सडक निर्माणका लागि स्थानीय देवीप्रसाद खातीको अध्यक्षतामा गठित उपभोक्ता समितिमार्फत काम थालिएको थियो ।

गएको मंसिर १० गतेदेखि निर्माण कार्य सुरु गरी तीन महिनाअघि नै काम सम्पन्न गरिए पनि योजनाको २ सय मिटर क्षेत्रमा मापदण्डअनुसार चौडाइ नभएको नगरपालिकाका इन्जिनियर निरज अधिकारीले बताए ।

उनका अनुसार बिहीबार गरिएको अनुगमनका क्रममा लम्बाइ, मोटाइ र सडकको गुणस्तर पूरा भए पनि चौडाइमा ५ सेन्टिमिटरदेखि १२ सेन्टिमिटरसम्म अपुग भएको पाइएको हो । ‘चौडाइ ५ दशमलव ५ मिटर हुनुपर्नेमा धेरै ठाउँमा १२ सेन्टिमिटरसम्म कम भएको भेटियो’, इन्जिनियर अधिकारीले भने ।

अनुगमनका क्रममा ८ नम्बर वडाध्यक्ष गोपीचन्द्र गौतमले लागत इस्टिमेटअनुसार चौडाइ नपुगेपछि निर्माण उपभोक्ता समितिका सचिव खगेन्द्र आचार्यलाई भेटी सम्बन्धित कामदारलाई मापदण्डअनुसार काम गराउन निर्देशन दिए ।

कालोपत्रे सडकको लागत इस्टिमेटअनुसार काम नभएसम्म बजेट निकासा हुन नसक्ने योजना शाखा प्रमुख हिमराज सेडाईंले बताए । उनले नगरमा हुने विकास निर्माणका कार्यको गुणस्तर र मापदण्डमा कुनै सम्झौता हुन नसक्ने पनि सुनाए ।

अनुगमनमा वडाध्यक्ष गौतम, योजना प्रमुख सेडाईं, इन्जिनियर अधिकारी, इन्जिनियर निता नेपाल, पूर्वाधार विकास समितिका संयोजक रमेश तिखत्री, वडा सदस्य अर्जुन मेचेलगायत सहभागी थिए ।

कालोपत्रे सडक निर्माण उपभोक्ता समितिले स्थानीय ठेकेदारमार्फत कालोपत्रे निर्माणको काम गराएका थिए ।