रोहित काफ्ले,
झापा । झापाको काँकरभिट्टा र दुहागढीमा निर्माण गरिएको ‘मानव मलमूत्रीय फोहोर (दिसाजन्य लेदो) प्रशोधन केन्द्र’ पूर्णरुपमा सञ्चालनमा आएको छ ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २४औं वार्षिक साधारणसभाको अवसर पारेर खानेपानी मन्त्री बिना मगरले बुधबार अपरान्ह एक समारोहका बीच काँकरभिट्टामा उद्घाटन गरेपछि प्रशोधन केन्द्र सञ्चालनमा आएको हो ।

नेपाल सरकार र मेचीनगर नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको उक्त फोहोर प्रशोधन केन्द्र खानेपानी मन्त्रालय अन्तर्गत साना सहरी खानेपानी आयोजनाले पाइलट प्रोजेक्टको रूपमा मुलुकमै पहिलोपल्ट झापामा सञ्चालन गरेको हो ।

मेचीनगर–७ काँकरभिट्टामा रहेको केन्द्रले दैनिक १२ घनमिटर र मेचीनगरकै दुहागढीको केन्द्रले दैनिक २७ घनमिटर दिसाजन्य लेदो पदार्थलाई प्रशोधन गरी कृषि बालीमा प्रयोग गर्न मिल्ने प्राङ्गारिक मल बनाउनेछ ।

आयोजनाका लागि दातृ संस्था बिल एन्ड मेलिना गेट्स फाउन्डेसनले नेपाल सरकारमार्फत १४ करोड ६८ लाख ५८ हजार रुपैयाँ लगानी गरेको छ ।

काँकरभिट्टामा रहेको प्रशोधन केन्द्रमा मेचीनगर नगरपालिकाको वडा नं. १ देखि १३ सम्मको ६५ हजार १९ जनसंख्याबाट निस्कने सबै दिसाजन्य फोहोरलाई प्रशोधन गरिने र मेचीनगर–१४ दुहागढीमा रहेको केन्द्रमा मेचीनगरका १४ र १५ वडा, विर्तामोड नगरपालिकाका सबै वडा र बुद्धशान्ति गाउँपालिकाका सबै वडाको एक लाख ४२ हजार आठ सय ४८ जनसंख्याबाट निस्कने दिसाजन्य लेदोको प्रशोधन गरिने बताइएको छ ।

मानव मलमूत्रीय फोहोर प्रशोधन गर्न सक्ने बायोग्यास डाइजेस्टर र ठोस पदार्थलाई सुकाई कम्पोस्ट मलको रूपमा प्रयोग गर्न १६ वटा ड्राइ प्रशोधन केन्द्रमा निर्माण गरिएको छ ।

यी दुवै प्रशोधन केन्द्र निर्माणमा ८५ प्रतिशत लगानी सङ्घीय सरकारको र १५ प्रतिशत नगरपालिकाहरुको रहेकोे छ ।