ताप्लेजुङ। ताप्लेजुङको स्थानीय तह फक्ताङलुङ गाउँपालिकाभित्र सबै गाउँ-गाउँसम्म यातायात सेवा दिने उद्देश्यले तमोर नदीमा चारवटा काठे मोटरेबल पुल निर्माण भएका छन्।

फक्ताङलुङ गाउँपालिकाले आर्थिक वर्षको बजेटबाट चार वटा अस्थायी काठे मोटरेबल पुलका लागि ३ लाख ७५ हजारको दरले १५ लाख विनियोजन गरेको फक्ताङलुङ गाउँपालिका अध्यक्ष सरोज लिम्बूले बताउनुभयो।

विकासको मेरुढण्ड सडक भएकाले स्थानीय सरकारले विकास पूर्वाधारमा पहिलो प्रथामितामा राखेर गाउँ-गाउँमा सञ्जालले जोडन सडकको ट्रयाक खोल्ने काम भइरहेको अध्यक्ष लिम्बूले जानकारी दिनुभयो।

स्थानीय सरकारको अनुुभूति गराउन दुुर्गम गाउँवस्तीसम्म यातायात पुुर्याउनका लागि अस्थायी भए पनि काठेपुल निर्माण गरेको अध्यक्ष लिम्बूले जानकारी दिनुभयो।

स्थानीय सरकारको आर्थिक अभावले स्थायी पुल निर्माण गर्न नसकेकाले तत्काल स्थानीयवासीलाई यातायातको सेवा पहुचमा ल्याउनका लागि काठेपुल निर्माण गरेको फक्तालुङ गाउँपालिका ६ वडा अध्यक्ष छोवाङ शेर्पाले जानकारी दिनुभयो।

काठेपुल बनेपछि फक्ताङलुङ ४ सुङसाबुका विभिन्न गाउँवस्तीसम्म यातायात सेवा सञ्चालनमा आएको छ। त्यस्तै फक्तालुङको ६ लेलेपको ईला गाउँसम्म दैनिक यातायात सेवा सञ्चालन भइरहेको छ।

फक्तालुङ गाउँपालिका वडा नम्बर २ सिंवा बजारदेखि १ नम्बर वडा सावदेन र २ नम्बर वडा खेजिनेम गाउँसम्म यातायात सेवा पुुर्याउन सिंवा र खेजिनेमको बीचमा पनि अस्थायी काठेपुल निर्माण गरिएको छ।

पुल बनेपछि ताप्लेजुङ सदरमुुकामदेखि सिंवा बजारसम्म मात्र पुगेर दुई तीन घण्टा उकालो हिँड्नुपर्ने समस्या हटेको स्थानीय बताउँछन्। दैनिक उपभोग्य सामग्रीहरू घर-घरसम्म गाडीले नै पुुर्याउने भएकाले ढुवानीमा कमी आएको छ।