अर्जुनधारा । सरकारले अभियानको रुपमा सञ्चालन गरेको हात्तीपाइले रोगविरुद्धको औषधि गाउँका बासिन्दाले भन्दा बजारमा बसोबास गर्ने व्यक्तिले नै नखाने गरेको एक कार्यक्रमका सहभागीको निश्कर्ष रहेको छ ।

अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखाले शुक्रबार आयोजना गरेको नगरपालिकास्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठीमा सहभागी अधिकांशले आफ्ना धारणा राख्ने क्रममा जान्ने बुझ्ने र पढेलेखेका व्यक्तिले नै हात्तीपाइलेविरुद्धको औषधि सेवन नगर्ने गरेको उल्लेख गरे ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले यसअघि औषधि खाँदा ज्यान जाने खतरा भएकाले आफूले पनि नखाएको भन्दैै परिवारलाई पनि नखान सुझाव दिएको अनुभव सुनाए ।

‘मजस्तो मान्छेले पनि नखाएपछि अरुले कसरी खान्छन् ?’, उनले आफैँमाथि प्रश्न गर्दै भने, ‘धेरै कुरा बुझेपछि गतसालदेखि खाँदैछु र परिवारलाई पनि खुवाएको छु ।’ उनले हात्तीपाइले रोगविरुद्धको औषधिका बारेमा राम्ररी बुझाउन नसकेका कारण सबै सहभागी हुन नसकेको बताए ।

अभियान सफल बनाउनका लागि नगरको वडामा गठित टोल विकास समितिका पाँच जना र तीन जना स्वास्थ्यकर्मी परिचालन गर्नुपर्ने सुझाव दिए ।

लेखा प्रमुख रामचन्द्र घिमिरेले औषधि खाँदा मान्छे नै मरेको खबर आएपछि द्विविधा सिर्जना गरेको बताए । उनले औषधिका कारण नभएर अन्य कारणबाट मृत्यु भएको भन्ने समाचार काम आएको र सम्बन्धित निकायले पनि यस्तो भ्रम चिर्ने किसिमको प्रतिक्रिया नदिएकाले पनि जनमानसमा त्रास यथावत रहेको स्पष्ट पारे ।

तल्लोस्तरबाट चेतनाको स्तर उकास्दै सबै क्षेत्रबाट खेलिने प्रभावकारी भूमिकाबाट मात्र अभियान सफल बन्ने उनको सुझाव छ ।

स्वास्थ्यकर्मी दुर्गा भट्टराईले औषधि सेवनमा आफूहरु ग्रामीणस्तरमा ९० प्रतिशत सफल भएको भन्दै बजारमा जान गाह्रो भएको अनुभव सुनाए । बजारका मान्छे जान्ने बुझ्ने भए पनि ढोका, गेट थुनेर बस्ने अनि नखाइ पनि खाएको भन्ने जवाफ दिने गरेको उनले सुनाए ।

खुदुनाबारी स्वास्थ्य चौकीका प्रमुख लक्ष्मण शाहले स्नोफेलिया र जुकाको औषधि सबैले खाने गरेको तर त्यसैको मिश्रण हात्तीपाइलेको औषधि भने खाने नगरेकोप्रति आश्चर्य व्यक्त गरे ।

सुरुमा विदेश संस्थाले परीक्षणका लागि नेपालमा हात्तीपाइलेको औषधि वितरण गरेको हल्ला फिजाइँएकाले पनि सबैले सहभागिता नजनाएको सेवाग्राही श्याम निरौलाले बताए ।

प्राथमिक स्वास्थ्य केन्द्र शनिश्चरेका सिनियर अहेव डम्मरु मिश्रले हात्तीपाइलेको औषधिका बारेमा सरोकारवालाई असर र फाइदाका बारेमा राम्ररी बुझाउन नसकिएकाले पनि अपेक्षित सफलता मिल्न नसकेको बताए ।

त्यस्तै, स्वास्थ्यकर्मी अञ्जु साँवा लिम्बूले विद्यालयबाट अभियान सञ्चालन गर्नसके प्रभावकारी बन्ने धारणा राखिन् । गाउँका टाठा बाठाबाट सकारात्मक सन्देश प्रवाह गर्न जरुरी रहेको उनको सुझाव थियो ।

प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. सुनिल यादवले आफूले डाक्टर पढिरहँदा पनि कलेजमा हात्तीपाइलेविरुद्धको औषधि सेवनका लागि कोही नआएको भन्दै दुःख प्रकट गरे । स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थासम्म पनि अभियान पुग्न नसकेपछि गतसालबाट मात्र आफूले औषधि सेवन गर्न थालेको पनि उनले सुनाए ।

स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले बुझ्ने मान्छेले सेवन नगरेसम्म अभियान सफल नहुने दाबी गरे । सबैको सहयोगले मात्र सम्भव हुने बताएका उनले मातहतका स्वास्थ्यकर्मीलाई टोल विकास समिति, जनप्रतिनिधि, शिक्षकलाई अनिवार्य अभियानमा सहभागी गराउन निर्देशन पनि दिए ।

अर्जुनधारा नगरपालिकामा यसवर्ष ३० जना स्वास्थ्यकर्मीबाट दैनिक २५० जनालाई औषधि खुवाउने स्वास्थ्य शाखाको लक्ष्य रहेको उनले बताए । गतवर्ष ७८ प्रतिशत नगरबासीलाई औषधि खुवाइएको दाबी गरिएको छ भने ३०० जनामा गरिएको रगत परीक्षणबाट ६ जनामा संक्रमण फेला परेको बताइएको छ ।

अर्जुनधाराका नगर प्रमुख दीर्घ रोगीले खान नहुने भनिए पनि आफूले गतवर्ष सेवन गर्दा केही असर नगरेको भन्दै अभियान सफल बनाउन सबै लाग्न आग्रह गरे । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाकी कर्मचारी दुर्गा चापागाईले गरेकी थिइन् ।