दानाबारी । स्वास्थ्य संस्थाहरुमा पुगेर शिशु जन्माउने आमाहरुलाई इलामको माई नगरपालिकाले थप नगद प्रोत्साहान रकम प्रदान गरेको छ ।

माई नगरपालिका स्वास्थ्य शाखाले स्वास्थ्य संस्थामा नियमित गर्भवती जाँच गरी शिशु जन्माउने आमाहरुलाई उत्प्रेरणा कार्यक्रम अन्तरगत नगरपालिकाले प्रोत्साहान रकम थप गरी प्रदान गरेको हो ।

संघीय सरकारको सशर्त अनुदान अन्तरगत २८ सय रुपैयाँमा माई नगरपालिकाले पाँच हजार थप गरी ७ हजार आठ रुपैयाँ प्रदान गरेको हो । माई नगरपालिकाको कार्यपालिका बैठकले स्वास्थ्य संस्थामै सुत्केरी आमाहरुले नियमित गर्भ जाँच र शिशु जन्माउन भनी उत्प्रेरणा दिने उदेश्यले सो रकम प्रदान गरेको नगर प्रमुख दिपक थेवेले बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनानाथ लम्सालको अध्यक्षता भएको एक कार्यक्रममा माई नगरपालिका प्रमुख दिपक थेवे, उप–प्रमुख विष्णुमाया आर्चायले सुत्केरी आमाहरुलाई उत्प्रेरणास्वरुप प्रदान गरिने रकम हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमखु थेवेले सुत्केरी महिलाको स्वास्थ्य जाँच गर्दा हिँड्ने खर्चको अभावपूर्ति गर्ने र फलफूल तथा सागसब्जी खरिदमा समस्या नहोस् भनेर थप रकम प्रदान गरिएको बताउनुभयो ।

नगरपालिकाले शुरु गरेको उत्प्रेरणा रकम २१ जना आमाहरुलाई शुक्रबार पहिलो पटकमा रकम हस्तान्तरण गरिएको माई नगरपालिका प्रशासकीय अधिकृत नविनकुमार पौडेलले बताउनुभयो ।

मातृ मृत्युदर र बाल मृत्युदरलाई कम गर्न स्थानीय सरकारले थप रकम हस्तारन्तरण गरेको नगरपालिकाको भनाइ छ । नगरपालिकाले बर्थिङ सेन्टरमा बच्चा जन्माउने आमाहरुलाई मात्रै उत्प्रेरणा रकम प्रदान गर्ने निर्णय गरेको छ ।

माई नगरपालिकाको केन्द्र रहेको स्वास्थ्य चौकी सितली र वडा नम्बर ९ स्थित चिसापानीमा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर रहेको माई नगरपालिका स्वास्थ्य संयोजक पुष्कर कट्टेलले बताउनुभयो ।