अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका ५ मा पर्ने कञ्चनबारी सडक खण्डमा गरिएको कालोपत्रेमा त्रुटि भएको ठेकेदार कम्पनीले स्वीकार गरेको छ । कालोपत्रे गरिएको हप्ता दिन नबित्दै उप्किन थालेपछि स्थानीयले विरोध गर्दै आएका थिए ।

अर्जुनधाराको चारपाने–नारायणचोक सडक खण्डको उत्तरपट्टि कञ्चनबारी पर्छ । तर, कञ्चनबारी स्कुलदेखि उत्तरपट्टि कुशल चौकतर्फ बनेको कालोपत्र सडक बनिनसक्दै भत्किन थालेपछि स्थानीयबासीले आपत्ति जनाएका हुन् ।

सप्तरीको शाह इन्जिनियरिङ कन्ट्रक्सनले आउँदो असार मसान्तसम्मा काम सक्नेगरी ग्रामीण सडक सुधार पहुँच योजना (¥याप ३)अन्तर्गत पाँच करोड रुपैयाँमा ठेक्का पाएको थियो । कञ्चनबारीदेखि दक्षिण चारपानेसम्म यसअघि नै स्तरीय काम भए पनि उत्तरतर्फ भने मंसिर महिनाको चिसो मौसममा कालोपत्रे गर्ने काम गरिएको थियो ।

मंगलबार कञ्चनबारी स्कुलमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा ठेकेदार कम्पनीले केही त्रुटि भएको स्वीकार गरेको छ । कम्पनीका इन्जिनियर प्रविण देवले जाडो मौसममा काम गर्दा केही समस्या आएको स्वीकार्दै रिपेयरिङ गर्ने बताए ।

उनले भने, ‘चिसो मौसममा तापक्रम नपुगेपछि केही ठाउँमा समस्या आएको हो ।’ समस्या देखिएका ठाउँमा निर्माण सामग्रीको मात्रा बढाएर काम गर्ने उनको भनाइ छ ।

जिल्ला पूर्वाधार विकास कार्यालय झापाका प्राविधिक किरण विष्टले बेसकै कारणले कालोपत्रे नभत्किएको दाबी गरे । इस्टिमेटअनुसार काम भएको बताएका उनले इस्टिमेटकै पिच नभत्किएको पनि सुनाए ।

कस्तो किसिमको त्रुटि भएको हो भन्नलाई विशेषज्ञ टोलीको अनुसन्धानपछि थाहा हुने भएकाले त्यहीअनुसारको काम सच्याउने पनि उनले बताए । कालोपत्रे सडकको जग बलियो नभएको खण्डमा पूरै सडक भत्काएर बनाउनुपर्ने पनि सुझाए ।

काम पूरा भइनसकेका कारण ठेकेदार कम्पनीलाई भुक्तानी दिन बाँकी रहेको बताउँदै उनले समस्या समाधान भएपछि मात्र भुक्तानी दिने कार्यालयको नियम रहेको पनि सुनाए ।

अर्जुनधारा ५ को १ नम्बर टोल विकास संस्थाले आयोजना गरेको सार्वजनिक सुनुवाईमा बोल्दै अध्यक्ष छविलाल सिवाकोटीले उत्तरपट्टिको करिब ८ सय मिटर कालोपत्रे सडकमा समस्या देखा परेको बताए । एक हप्ता नबित्दै कालोपत्रे उप्किन थालेपछि सडकसम्म अवरोध गरे पनि सरोकारवालाबाट कुनै सुनुवाई हुन नसकेको उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले प्राविधिक कार्यालयको प्रमुखको सरुवा हुने क्रम नरोकिएपछि उचित अनुगमन नहुँदा संक्रमणका कारण पनि मापदण्डबमोजिमको सडक बन्न नसकेको हुनसक्ने बताए ।

ठेकेदार कम्पनीले इमान्दारपूर्वक जनताको काम गर्नुपर्छ भन्ने मानसिकतामा परिवर्तन ल्याउन जरुरी रहेको भन्दै उनले चैतमा गरिनुपर्ने काम चिसो मौसममा गरिँदाको परिणामले कालोपत्रे उप्किएको उनको भनाइ थियो ।

स्थानीयबासी अमरदीप भेट्वालले ठाउँ ठाउँमा टालेर जनताको आँखामा छारो हाल्ने काम नगर्न भन्दै दोहो¥याएर बाटो बनाउनुपर्ने धारणा राखे । त्यस्तै, मदनकुमार सिवाकोटीले सडक निर्माणमा स्थानीयले चासो राख्दा छुच्चो भएको तितो अनुभव सुनाए ।

कार्यक्रममा सरोकारवालाको तर्फबाट ५ नम्बर वडाध्यक्ष ध्यानबहादुर भारती, नेका नगर सभापति हेमराज खरेल, पार्वती तामाङ, नारायण पौडेल, शंकर सुवेदी, कुन्दन भट्टराई, पत्रकार कुमार भट्टराई, विनोद पाण्डेलगायतले सडकको गुणस्तरमा सम्झौता गर्न नहुने धारणा राखेका थिए ।