विनोद सापकोटा,
झापा । शिवसताक्षी नगरपालिका १० का श्याम श्रेष्ठ शारीरिकरुपमा अशक्त हुन् । उनको दायाँ खुट्टाले चाहेजस्तो सहजै भुइँ टेक्दैन । तर, उनी कृषि पेसा अब्बल मानिन्छन् ।

मंगलबार नगरपालिकामै उनलाई बालीमा औषधि छर्कने मेसिन नगरपालिकाले अनुदानमा दियो । उनले भने, ‘यसअघि कुचोले बालीमा दबाइ छर्किन्थेँ, अब मेसिनबाट स्प्रे गर्छु ।’ आफ्नो थोरै जमिनमा तरकारीबाली गर्ने श्रेष्ठले अब परम्परागत कृषि पेसा छाडेर आधुनिक प्रणाली अँगाल्ने बताए । खुसी हुँदै उनले भने, ‘आफैँलाई मात्र पुग्ने गर्थें, अब गाउँलेलाई नै पुग्ने खेती गर्छु ।’

लक्ष्मीकान्त ढकाल शिवसताक्षी ३ का किसान हुन् । ढकाल पाथिभरा कृषि समूहमा आवद्ध छन् । सामुहिक खेती प्रणालीका लागि उनको समूहले ५० प्रतिशत अनुदानमा खेत जोत्ने पावरटेलर पायो । सोही समुहले धान काट्ने रिपर र मकै छोडाउने मेसिन पनि पायो ।

नगरले आधुनिक खेती प्रणालीतर्फ किसानलाई उत्साहित बनाउन कृषि उपकरण विगत वर्षदेखि नै प्रदान गर्दे आएको छ । कृषि उपकरण थाप्दै दंग परेका किसानले भने, ‘अब कुटो कोदालोको जमाना गयो ।’

शिवसताक्षी नगरले नगरका ११ वटै वडाका क्रियाशील कृषि समूह र किसानका लागि मंगलबार कृषि उपकरण प्रदान गरेको हो । ५० प्रतिशत अनुदानमा नगरका ३७ कृषक समूहले औषधि छर्कने स्प्रे पाएका छन् । समूह दर्ताको प्रतिलिपी, समूहको छाप र समूहको माइन्युट नगरको कृषि शाखामा पेस गरेपछि किसान समूह अनुदानमा औजार पाउनयोग्य मानिन्छन् ।

नगरको तथ्यांकअनुसार ८६ प्रतिशत नगरबासी कृषि पेसामा आवद्ध छन् । सम्बन्धित वडाको सिफारिस र नगरको अनुगमनका आधारमा किसानले उपकरण पाएका हुन् । शिवसताक्षी नगरपालिका र नगरका क्रियाशील समूह र किसानको ३५ लाख ५१ हजार १७५ रुपैयाँको लागतमा कृषि उपकरण वितरण गरिएको हो ।

नगरले चालु वर्षमा २२ जना किसानलाई मकै छोडाउने मेसिन दिएको छ । यस्तै २७ किसानलाई मकै रोप्ने मेसिन प्रदान गरेको शिवसताक्षी नगरको कृषि शाखाले जनाएको छ । नगरले कृषि समूहका लागि सतप्रतिशत अनुदानमा २३ वटा कृषक समूहलाई साना सिँचाइ मोटर प्रदान गरेको छ ।

यस्तै २२ कृषि समूहका लागि नगरले ७५ प्रतिशत अनुदानमा धान काट्ने रिपर प्रदान गरेको छ । यता पावरटेलर ५० प्रतिशत अनुदानमा २२ किसान समूहले पाएका छन् ।

शिवसताक्षी नगर प्रमुख चन्द्रकुमार शेर्माले व्यावसायिक खेती गरिरहेका किसानहरुलाई राहत पुग्ने गरी समूह र व्यक्तिगत फर्महरुलाई अनुदानमा कृषि सामग्री प्रदान गरिएको बताए । कृषि क्षेत्रलाई नगरले प्राथमिकतामा राखेर काम गरिरहेको बताउदै नगर प्रमुख शेर्मा भने, ‘व्यावसायिकरुपमा कृषी पेसामा थप अनुदानका कार्यक्रम पछिल्ला वर्षमा ल्याउनेछौँ ।’

उनले परम्परागत खेती र विषादीयुक्त औषधि प्रयोगले नगरका हरेक गाउँमा क्यान्सर, मिर्गौला, मधुमेह लगायतका प्राणघातक रोग दिनहुँ बढ्ने गरेको बताए । उनले भने, ‘कुटो कोदालो प्रयोग गर्ने जमाना अब गए ।’

नगरका योजना अधिकृत प्रकाश चौधरीले व्यावसायिकरुपमा किसानले तरकारी खेती गरे कामका लागि विदेसिनु नपर्ने बताए । ‘तपाई किसानहरुलाई कृषि पेसामा नै आत्मनिर्भर बनाउन नगरले दर्जनौँ योजना ल्याएको बताउदै उनले भने, ‘नगरलाई कृषिमा आत्मनिर्भर बनाउनुहोस् हामी तपाईहरुलाई व्यावसायिक किसान बनाउँछौँ ।’

शिवसताक्षी नगरको कृषि विकास समितिका अध्यक्ष बालजित राईको अध्यक्षतामा भएको कार्यक्रममा कृषि शाखाकी जानुका श्रेष्ठले स्वागत र प्रशासन शाखाका अधिकृत विमल बाँस्कोटाले कार्यक्रम सञ्चालन गरेका थिए ।