मदनपुर । दनुवार जागरण उत्थान युवा मञ्च अर्जुनधारादरा आयोजित एक दिवसीय दनुवार जातिको पहिचान र आदिवासी जनजाति विषयक प्रशिक्षण बुधबार सम्पन्न भएको छ । कार्यक्रममा दनुवार जातिको पनि राजा रहेछन् भन्ने कुरा थाहा पाएपछि सहभागीहरु आश्चर्य भएका थिए ।

कार्यक्रममा सहभागी दनुवार युवायुवतीलाई प्रशिक्षण दिँदै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नम्बर १ का इन्चार्ज दिपीन राईले दनुवार जातिको उत्थान र अवस्थाबारे जानकारी गराएका थिए ।

उनले नेपालमा १४औं शताब्दीमा मध्य तराईमा शासकीय सत्ता चलाउने तिरहुतियाका राजा हरसिंहदेव दनुवार थिए भन्ने इतिहाससहित जानकारी गराउँदा सहभागीहरुलाई आश्चर्य लागेको सहभागी विष्णुकुमारी दनुवारले बताइन् ।

प्रशिक्षणमा राईले नेपालमा मधेस र पहाडी गरी ६२ वटा जिल्लामा दनुवार जाति रहेको र दुई हजार वर्ष अगाडिबाट भित्री मधेसमा बसोबास गर्दै आएको इतिहासमा रहेको जानकारी गराएका थिए ।

दनुवार युवाको उल्लेखीय सहभागिता रहेको प्रशिक्षणमा २०६८ सालको जनगणनामा दनुवारहरुको संख्या ८४ हजार ११५ रहेको जानकारी गराउँदै यी जातिको मुख्य थलो सिन्धुली, उदयपुर, सर्लाही, सिरहा र धनुषा रहेको जानकारी गराएका थिए ।

अर्जुनधारा–४ स्थित मदनपुरमा आयोजित कार्यक्रममा सहभागीहरुलाई आदिवासी जनजाति कसलाई भनिन्छ र नेपालका आदिवासी जनजातिको अवस्थाबारे जानकारी गराइएको थिए ।

उत्थान मञ्चका अध्यक्ष दिपेन दनुवारको सभापतित्वमा भएको कार्यक्रममा सहभागी निलम दनुवार, विष्णुकुमारी दनुवार, मनिष दनुवारलगायतले यस्ता रचनात्मक प्रशिक्षण अझै आवश्यक रहेको औँल्याए ।