भद्रपुर । ज्येष्ठ नागरिक संघ भद्रपुरले झापा भद्रपुरका ६० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
२९औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर संघले बुधबार एक समारोहका बीच भद्रपुर नगरपालिका सामाजिक विकास शाखाको आर्थिक सहयोगमा नगरको प्रत्येक वार्डका छ जना गरी १० वटा वडाका ६० जनालाई नगदसहित सम्मान गरेको हो ।
जिल्ला समन्वय समिति झापाको सभाहलमा संघको नगर समिति अध्यक्ष हेमप्रसाद खनालको अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथि नगर प्रमुख जीवनकुमार श्रेष्ठले १०४ वर्षसम्मका ज्येष्ठ नागरिकलाई नगदसहित जाडोमा ओढ्ने ब्ल्यांकेट वितरण गर्नुभयो । ज्येष्ठ नागरिकहरुका लागि ५० हजार मूल्य बराबरको ब्लाङ्गकेट वितरण गरिएको थियो ।
सो अवसरमा नगरप्रमुख श्रेष्ठले भद्रपुरलाई बालमैत्री स्थानीय शासनयुक्त नगरसँगै ज्येष्ठ नागरिकमैत्री नगर बनाउने अभियानलाई नगरपालिकाले तिव्रता दिइरहेको जानकारी दिनुभयो ।
ज्येष्ठ नागरिकको सम्मान, राष्ट्रको पहिचान भन्ने नाराका साथ सम्पन्न सम्पन्न कार्यक्रमको सञ्चालन संघका सचिव शंकर गौतमले गर्नुभएको थियो भने प्रथम उपाध्यक्ष परमानन्द मिश्रले स्वागत र द्वितीय उपाध्यक्ष धनप्रसाद शिवाकोटीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।