झापा । मध्यरातमा आएको जंगली हात्तीले एकाबिहानै झापाकाे अर्जुनधारा ११ मा कम्तिमा ५ घरमा क्षति पुराएको छ ।

उक्त एकल हात्तीले अर्जुनधारा नगरपालिकाको विभिन्न क्षेत्रमा यस अघिदेखि नै क्षति पुराउँदै आएको थियो । शुक्रबार बिहानको राति उक्त हात्तीले सालबारी दक्षिण, देउनिया उत्तरतर्फको मानव बस्तीमा पसेर क्षति पुराएको हो ।

स्थानीय युवा सनम राईका अनुसार चौठीलाल चौधरीको घरमा क्षति पुराउँदै अन्दाजी १० मन धान खाएर नष्ट गरेको छ । भान्सा घर पूर्णरूपमा क्षति पुराएकाे छ ।  त्यस्तै, सुबास तामाङ, गुमानसिंह राई, झाप्रे सतार र अनुपसिंह इङनामको घरमा पनि क्षति पुराएको छ । अधिकांश सबैकाे घरबाट धान, चामल निकालेर हात्तीले खाएकाे छ ।

हात्तीले इँटाकाे पर्खाल भएकाे घर भत्काएर अन्नपात निकालेर खाने गरेकाे छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ । घटनास्थलबारे प्रहरी र वडा कार्यालयमा जानकारी गराइएको बताइएको छ ।

चार महिनाअघि देखा परेको उक्त हात्ती दिउँसोको समयमा चारआली जंगलभित्र गएर बस्ने र रात परेपछि मानव बस्तीमा छिरेर उपद्रो गर्ने गरेको छ । थप क्षति हुनबाट बच्नका लागि स्थानीय बासिन्दाले हात्तीलाई धपाएर जंगलतर्फ पठाएका छन् ।