झापा । सरकारको हात्तीपाइले रोग निवारण कार्यक्रम लक्ष्य नजिक पुगेको तथ्यांक सार्वजनिक गरिएको छ । कार्यक्रमको सुरुवात ताका १३ प्रतिशत रोगको संक्रमण रहेको नेपालमा अहिले १ दशमलव ४७ मा झरेको बताइएको छ ।

स्वास्थ्य कार्यालय झापाले आइतबार बिर्तामोडमा आयोजना गरेको पत्रकारसँगका अन्तरक्रियामा कार्यक्रम संयोजक जीवन चौलागाईंले यस्तो तथ्यांक उपलब्ध गराएका हुन् । सन् २००१ मा अभियान सुरु हुँदा झापामा २४ प्रतिशत जनसंख्यामा हात्तीपाइले रोगको संक्रमण भेटिए पनि अहिले २ दशमलव ४ प्रतिशतमा झरेको उनको भनाइ छ ।

सन् २०१७ मा झापाको अर्जुनधारामा ३, दमकमा ५ र झापा गाउँपालिकामा १० प्रतिशत यस रोगका संक्रमित फेला परेका थिए । झापामा यस वर्ष ७० प्रतिशत जनसंख्यालाई औषधि खुवाउने लक्ष्य लिइएको छ ।

सरकारले नेपालमा ८६ प्रतिशत जनसंख्यालाई हात्तीपाइले रोगको औषधि खुवाउने लक्ष्य लिएकोमा अहिले ६६ प्रतिशत सफल भएको उनको भनाइ छ । विश्व स्वास्थ्य संगठनले सन् २०२० मा रोग निवारण गर्ने लक्ष्य लिएकोमा ७७ राष्ट्रमध्ये २१ देशमा औषधि सेवन कार्यक्रम सम्पन्न भइसकेको छ ।

५० देशका ८६ करोड जनसंख्या संक्रमित अवस्थामा फेला पर्दा २० वर्षअघि दक्षिणपूर्वी एसियाका १२ करोडमा फेला पारिएको थियो । जसमा ४ करोड व्यक्तिको अंगभंग भएको तथ्यांक फेला परेको थियो ।

हात्तीपाइले रोग निवारणका लागि बितेका ८ वर्षदेखि जिल्लाबासीलाई निरन्तर निःशुल्क औषधि वितरण गर्दा झापामा यो रोगको संक्रमण दर घटेको पाइएको छ ।

औषधि सेवनकर्ता घटे पनि ज-जसले खाए तिनका कारण संक्रमण दर घटेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । विगत ८ वर्षदेखि नियमित औषधि सेवन गराउँदा हात्तीपाइले रोग न्यूनीकरण भएकोले यो वर्ष पनि निःशुल्क औषधि वितरण कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरीप्रसाद पौडेलले देशका ६३ वटा जिल्लामा हात्तीपाइले रोगीहरु पाइएपछि औषधि खुवाउने कार्यक्रम थालिएकोमा ५० वटा जिल्लाले पाँच चरणमा नै लक्ष्य भेट्टाएको जानकारी दिए । तर, झापा, मोरङ, धनकुटासहित १३ जिल्लामा यो वर्ष पनि औषधि खुवाउने कार्यक्रम जारी छ ।

यस वर्ष झापामा आठ लाख दुई हजार ६०५ जनालाई औषधि खुवाउने स्वास्थ्य कार्यालयको लक्ष्य छ । जसका लागि ६३१ जना स्वयम्सेवक, ४१६ जना स्वास्थ्यकर्मीलाई परिचालन गर्ने भएको छ ।

यही माघ २५ गतेदेखि हरेक पालिका र वडा कार्यालयबाट स्वास्थ्यकर्मीहरु घरघरमा, कार्यालयहरुमा, विद्यालय एवम् शिक्षण संस्थाहरुमा नै पुगेर औषधि खुवाउने कार्यक्रम तय भएकाले हात्तीपाइले रोगबाट बच्न वर्षमा एक पटक औषधि खान कार्यक्रम संयोजक चौंलागाईंले आव्हान पनि गरे ।

हात्तीपाइले रोग लागिसकेपछि औषधि सेवन गर्नुको कुनै अर्थ नरहने जनाउँदै कार्यक्रम संयोजक चौंलागाईंले औषधि खान आनाकानी गरेर संक्रमणमा परेका वा औषधि वितरण हुनुभन्दा पहिलेदेखि नै संक्रमण भइसकेका ५५४ जना मानिसहरु झापामा रहेको तथ्याङ्क पनि सुनाए । उनका अनुसार झापामा ७२ जनामा खुट्टा सुन्निने, ३७२ जनामा हाइड्रोसिल र ११० जनामा हात र स्तनको हात्तीपाइले रोग भइसकेको छ ।

हात्तीपाइले रोगको उपचार नभइ रोगबाट बच्नका लागि औषधि सेवन गर्नुपर्ने उनले बताएका छन् । कार्यक्रम अधिकृत वेदप्रसाद घिमिरेले स्वागत गर्दै अन्य रोगको सामान्य औषधि सेवन गरेजस्तै हात्तीपाइले रोगको औषधि सेवन गर्दा फरक नपर्ने सुनाए ।