झापा । बिर्तामोड नगरपालिका– २ चारपाने नजिकै खेतमा एक व्यक्तिको सोमबार राति हत्या गरी जलाएको अवस्थामा शव फेला परेपछि अनुसन्धानका लागि तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनास्थल नजिकैका वेपत्ता भएका सुभाङ शेखकी श्रीमती शुष्मा शेख, सासू पारु शेख, र ससुरा रहमान शेखलाई नियन्त्रणमा लिएर बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयमा सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।
घटनास्थल नजिकैका शेख वेपत्ता हुनु र जलेको शव पनि पुरुषकै भएका कारण उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताइएको छ ।
जलेका व्यक्तिको हुलिया खुल्न नसकेपछि प्रहरीले थप अनुसन्धानका लागि संघीय इकाई प्रहरी कार्यालय घरानबाट तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान शुरु गरे पनि अहिलेसम्म थप जानकारी पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ । प्रमाण नष्ट गर्न कसैले ति व्यक्तिलाई हत्या गरी जलाएको हुन सक्ने स्थानीयले बताउँदै आएका छन् ।
स्थानीय ऐनकुमार राजवंशीको खेतमा राखेको परालमा सोमबार राति १२ बजेदेखि आगो लागेको थियो । सोही ठाउँमा जलेको अवस्थामा शव भेटिएको प्रवक्ता श्रेष्ठले बताए । उनका अनुसार घटनाको विषयमा अनुसन्धान जारी छ भने शवलाई पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।