बिर्तामोड । झापाको चारपानेमा पाँच दिनअघि भएको शंकास्पद हत्यामा संलग्न दुई जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकारमाझ जिल्ला प्रहरी कार्यालय झापाले हत्यामा संलग्न बिर्तामोड(२ का २० वर्षीय करण चौधरी र १८ वर्षीय लक्ष्मण यादवलाई सार्वजनिक गरेको हो ।

सामान्य मजदुरी गर्ने चौधरी र यादवले मादक पदार्थ सेवन गरी सामान्य विवाद हुँदा ४० वर्षीय सुवान शेखको हत्या गरेको झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताए । कोइरालाका अनुसार तीन जनाबीच केही समयअघि चिनजान भई सँगै खानपिन गर्दै आएका थिए ।

भारत अररियाका शेख १० वर्षयता चारपानेमा बसेर मजदुरी गर्दै आएका थिए । उनले स्थानीय महिलासँग विवाह गरेका थिए ।

प्रहरीसमक्ष उनीहरुले दिएको बयानअनुसार घटना भएको साँझ चौधरी र यादवले स्थानीय बुद्धिमाया राईको होटलमा बसेर निगार खाएका थिए । त्यसै समय शेख पनि अर्को टेबलमा बसेर मदिरा सेवन गरिरहका थिए ।

होटलबाट निस्किने क्रममा उनीहरुबीच वादविवाद भएको थियो । सो क्रममा शेखले चौधरी र यादवलाई गालीगलौज गर्दै हिर्काएका थिए । त्यसपछि चौधरीले शेखलाई लडाएर ढुङ्गाले हिर्काउँदै अचेत बनाएका थिए । पछि चौधरी र यादवले शेखलाई घिसारेर एनकुमार राजवंशीको परालको कुन्युमा लगेर आगो लगाइदिएका थिए ।

यसअघि चौधरी र यादवले आफूहरुलाई गाली गरेको सम्झिँदै घरबाट चक्कु ल्याएर शेखको सम्वेदनशील अङ्ग काटिदिएका थिए ।