अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको विकट क्षेत्र मानिने २ नम्बर वडाको सहकालेमा शनिबार हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइएको छ ।

नगरको स्वास्थ्य शाखाकी सहसंयोजक दुर्गा चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख हरिकुमार राना र वडाध्यक्ष रघुनाथ खनालले औषधि सेवन गरेर उद्घाटन गरेका थिए । सहकालेका स्थानीयबासीलाई पनि औषधि खुवाइएको थियो ।

आधारभूत स्वास्थ्य सेवा केन्द्र साठी मुरेका स्वास्थ्यकर्मीको टोली पुगेर औषधि खुवाइएको हो । केन्द्रकी अहेव अन्जु लिम्बूका अनुसार सहकालेका ७० जनालाई घरमा पुगेर औषधि खुवाइएको हो । त्यस क्षेत्रमा २० घरधुरी रहेको छ ।

यसैगरी अर्जुनधाराको सबै वडामा हिजोबाट नै औषधि सेवन कार्यक्रम सुरु भएको छ । आज आइतबारदेखि घर घरमा पुगेर ९ दिनसम्म स्वास्थ्यकर्मीले औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य शाखाले जनाएको छ ।