धरमपुर । शिवसताक्षीमा एक दिने निःशुल्क पशुको स्वास्थ्य शिविर सोमबार सम्पन्न भएको छ । शिवसताक्षी नगरपालिका पशु सेवा शाखाको आयोजनामा पशुको बृहत स्वास्थ्य शिविर ३ नम्बर वडास्थित पारावारी बजारमा सम्पन्न भएको हो ।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाको प्राविधिक सहयोगमा नगरले बृहत पशु स्वास्थ्य शिविर आयोजना गरेको हो । शिविरमा बाख्रा, गाई, भैँसी र बंगुरको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको पशु स्वास्थ्य शाखाका प्रमुख रामअवतार यादवले जानकारी दिए ।

नगरस्तरीय शिविरमा पशुको गोवर र खोपलगायतको सुविधा प्रदान गरिएको थियो । जुका, माटे, भिटामिन, घाउखटिरा, जुम्रा र उपियाँको उपचार तथा औषधि वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

शिविरमा सबैभन्दा बढी जुका, माटे, जुम्रा र बाख्रालाई निमोनिया रोग देखा परेको शिविरमा संलग्न पशु चिकित्सकले बताए । शिविरमा ३५० वटाभन्दा बढी किसानका पशुलाई उपचार गरिएको थियो ।

नगरमा किसानले पशु स्वास्थ्यको समस्या विकराल बन्न थालेको गुनासो गरेपछि पशु स्वास्थ्य शिविरको आयोजना गरिएको नगरकी उपमेयर भोजकुमारी नेपालले बताइन् ।

कृषि र पशुपालनलाई सँग सँगै लैजान नगरले धेरै कार्यक्रम वडा वडामा ल्याएको उनले बताइन् । नगरमा निःशुल्क शिविर आयोजना गर्ने, औषधि नियमित खुवाउने, महामारी तथा हैजाजस्ता रोग लागेमा नगरले तत्काल सेवा दिने उपमेयर नेपालले बताएकी छन् ।

शिविरमा डा. गंगाराम यादव, डा. संजय ढुंगाना र पशु प्राविधिक नन्दप्रसाद सुवेदी, सन्ध्या विष्ट, विपीन भट्टराई, प्रेम पौडेल, मानबहादुर लम्जेल, तेजेन्द्र घिमिरे र समिर खड्कालगायतको टोलीले पशुको स्वास्थ्य परीक्षण गरेका थिए ।

वडा अध्यक्ष पुण्यप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जग्गा व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण खनाल, नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र दाहाल, लेखा अधिकृत भिमबहादुर खवासलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण विमल बाँस्कोटाले गरेका थिए ।