आनन्द गौतम,
ताप्लेजुङ । चीनमा नोवल कोरोना भाइरसको संक्रमण देखिएपछि खाद्यान्नको पहिलो असर संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथांकामा देखियो । त्यहाँ सरकारले सेनाको हेलिकप्टरबाट खाद्यान्न पनि पुर्‍यायो । यो स्थानीय बासिन्दा, प्रहरी, कर्मचारीसमेतका लागि थियो । किमाथांका नाकाको असर भोटखोलामा देखिए पनि अरू सीमावर्ती गाउँमा छैन ।

ताप्लेजुङको सीमावर्ती क्षेत्रका जनप्रतिनिधि कम्तीमा ६ महिनासम्मका लागि आफूहरू पूर्ण तयारीमा बस्ने गरेको बताउँछन् । साउनरभदौमा यस्तो समस्या देखिए चाहिँ केही चाँडो असर पर्न सक्छ । फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा भोटे हिउँदमा ६ महिनासम्म नाकाबन्दी भए पनि कुनै समस्या नआउने बताउँछन् ।

‘हामीलाई त खासै असर पर्दैन । ताप्लेजुङ सदरमुकामबाट पनि ढुवानी गर्न थालेका छौं,’ भोटेले भने, ‘याङमा चाहिँ पूरै चीनमा आश्रित हो तर उसले पनि पूर्वतयारी राम्रै गरेको हुन्छ ।’ नुनदेखि सुनसम्मको कारोबार गर्ने चीनबाट बर्सेनि भदौ र असोजमा खाद्यान्नको जोहो गरिन्छ । हिउँ पार गरेर जानुपर्ने भएकाले यो बेला सहज हुने फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङ बताउँछन् ।

‘गाडी नचल्दासम्म फुङलिङ आउन चारै दिन लाग्थ्यो, छिटो हिँडे तीन दिनमा पुगिन्थ्यो,’ ओलाङचुङगोलाका होटल व्यवसायी नुपु शेर्पाले भने, ‘भारी बोकेर उकालो त ६र७ दिनमा मात्रै पुगिन्थ्यो, त्यसैले खानेकुरा माथि तिब्बतबाट ल्याउँथ्यौं ।’

चीनले बेलाबेला आकस्मिक नाका बन्द गर्ने, पारि केही भए आउजाउमा रोक लगाउने भएकाले ताप्लेजुङको सीमावर्ती क्षेत्रका बासिन्दा सतर्क छन् । संखुवासभाको तुलनामा टाढा भएकाले पनि सचेत भएको अध्यक्ष भोटेले बताए । ‘धेरै हिउँ पर्ने र लामो समय नबिलाउने गर्दा त वर्ष दिनका लागि तयारी गरिएको हुन्थ्यो,’ उनले भने । नेपालबाट घिउ, गलैंचा लाने र बिक्री गरेर खाद्यान्न ल्याउने गरिएको छ ।

माघ ५ देखि चीनले नाका बन्द गरेको भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले बताए । ताप्लेजुङ र संखुवासभा दुवैका नाका बन्द भएको हो । यो घटनाबाट पूर्वतयारीलाई ध्यान दिनुपर्ने रहेछ भन्ने शिक्षा भएको सीमावर्ती क्षेत्रका बासिन्दा बताउँछन् । कान्तिपुरबाट