अर्जुनधारा । राष्ट्रिय खोप कार्यक्रमअन्र्तगत दादुरा–रुबेला खोप अभियानसम्बन्धी अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

आगामी फागुन १० गतेदेखि नौ दिनसम्म सञ्चालन हुने दादुरा–रुबेला रोग र अभियानका विषयमा जानकारी प्रदान गर्ने तथा प्रभावकारीरुपमा अभियान सञ्चालनका लागि योजना निर्माण गर्ने उद्देश्यले अन्तरक्रिया गरिएको स्वास्थ्य शाखाका संयोजक मुकुन्द बस्नेतले बताए ।

जनप्रतिनिधिसँगै खोप समन्वय समिति र सञ्चारकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा हाल नेपालमा दादुरा–रुबेला रोगको अवस्था, रोग लागेमा हुने जटिलता, रोग नियन्त्रण तथा निवारण कसरी गर्ने, अभियान सञ्चालनको उद्देश्य र कुन उमेर समूहका बालबालिकालाई खोप दिइनेबारे संयोजक बस्नेतले सहजीकरण गरेका थिए । कार्यक्रममा रोगबारे शाखाकी सहसंयोजक दुर्गा चापागाईंले जानकारी दिएकी थिइन् ।

अभियानअन्तर्गत यसअघि दादुर–रुबेला खोप लिएका तथा नलिएका नौदेखि ५९ महिनासम्मका (५ वर्ष मुनिका) सबै बालबालिकालाई खोप लगाइन्छ । शाखाका अनुसार अभियानअन्तर्गत छ हजार ४९२ जना बालबालिकालाई दादुरा–रुबेलासँगै पोलियो रोगविरुद्धको खोप दिइने कार्यक्रम रहेको छ ।

कार्यक्रममा वडाध्यक्षहरु रघुनाथ खनाल, जीवकुमार भण्डारी, दुर्गाप्रसाद दाहाल, नवराम ढुंगाना, गोपीचन्द्र गौतम, पुष्पकुमार प्रसाईं र बलदेवसिंह गोम्देन, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शीलगायतले जिज्ञासा राखेका थिए । कार्यक्रमको सञ्चालन शाखाकी सहसंयोजक चापागाईंले गरेकी थिइन् ।