अर्जुनधारा । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा झापाको अर्जुनधारा नगरपालिकाले वडास्तरबाट कार्यक्रम गर्ने तयारी गरेको छ ।

भ्रमण वर्षलाई सफल बनाउन वडास्तरबाटै थालनी गरेर नगरस्तरीय अर्जुनधारा महोत्सव गर्ने भएको हो । वडास्तरबाट गरिने तयारीका बारेमा शुक्रबार अर्जुनधारामा आयोजित पत्रकार सम्मेलनमा नगरको गतिविधिबारे जानकारी गराइएको छ ।

नगर प्रमुख हरिकुमार रानाले नगरमा भएका पर्यटकीय स्थलसँगै धार्मिक स्थलका बारेमा थप जानकारी दिनका लागि महोत्सव गर्न लागिएको जानकारी दिए । उनले वडास्तरबाटै तयारी गरिँदा जनमानसमा पनि सकारात्मक सन्देश जाने भएकाले नगरले बृहत् योजनाबाट कार्यक्रम गर्न लागेको बताए ।

उनका अनुसार नगरका ११ वटा वडामा आयोजना हुने वडास्तरीय कार्यक्रममा प्रत्येक दिन प्रदेश सरकारका मन्त्रीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

फागुन ४ गते ७ नम्बर वडाबाट उद्घाटन गरिने वडास्तरीय कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की आउने निश्चित भएको छ । फागुन १५ गते उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुशियतको उपस्थितिमा कार्यक्रमको समापन हुनेछ ।

वडास्तर कार्यक्रममा खेलकुदका ९ विधा र भाषा, कला, साहित्य संस्कृतिका ८ वटा विधालाई समेटिएको छ । आसन्न राष्ट्रपति रनिङ शिल्डलाई लक्षित गरी विद्यालयस्तरका प्रतियोगितालाई पनि समेटिएको नगर प्रमुख रानाले बताए । ‘११ वटामा कार्यक्रम सम्पन्न गरेपछि फाइनल चरणका कार्यक्रम नगर महोत्सवमा प्रस्तुत गरिनेछ’, उनले भने ।

वडास्तर कार्यक्रममा योजना, पशु, कृषि, स्वास्थ्यलगायतका विषयगत शाखाबाट उपलब्ध हुने सेवाका बारेमा शिविरमार्फत जानकारी र सेवा दिइने नगरका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले बताए ।

उनका अनुसार वडास्तरीय कार्यक्रम गर्नका लागि प्रत्येक वडालाई नगद २ लाख रुपैयाँ खर्च विनियोजन गरिएको छ । ‘वडाबाटै कार्यक्रम गरेर नगरमा भ्रमण वर्ष सफल बनाउने हाम्रो योजना हो’, उनले भने ।

करिब एक साताभन्दा लामो समयको नगर महोत्सवमा राष्ट्रियस्तरका कलाकारसमेत झिकाउने तयारी गरिएको छ । नगरले नेतृत्व लिएर सबै सरोकारवाला संघसंस्थासँग योजना बनाएर अर्जुनधारा महोत्सव सम्पन्न गर्ने नगर प्रमुख रानाले बताएका छन् ।

महोत्सवताका प्रदेश प्रमुख, प्रदेशका मुख्यमन्त्री र संघीय मन्त्रीलाई निम्त्याएर अर्जुनधाराको पर्यटकीयस्थलको अवलोकन गराइ आन्तरिक पर्यटनको प्रवद्र्धन गर्नु अर्को उद्देश्य रहेको पनि नगर प्रमुख रानाले जानकारी दिएका छन् ।