शनिश्चरे । अर्जुनधारा प्रेस क्लव अर्जुनधारा झापाको साधारणसभा फागुन १७ गते हुने भएको छ । क्लवको आज सम्पन्न बैठकले आफ्नो तेश्रो साधारणसभा नगरकै कालीखोला सिमसार तथा पर्यटकीय क्षेत्रमा आयोजना गर्ने निर्णय गरेको हो ।

साधारणसभा सम्पन्न गर्न बैठकले पदाधिकारी र सदस्यहरुबीच विभिन्न ६ वटा उपसमिति बनाई कार्य विभाजन समेत गरेको छ । जसअन्तर्गत क्लवका उपाध्यक्ष रमेश समदर्शीको संयोजकत्वमा सभा व्यवस्थापन उपसमिति, सचिव प्रेम आचार्यको संयोजकत्वमा अर्थ संकलन उपसमिति, अध्यक्ष कुमार भट्टराईको संयोजकत्वमा अतिथि पत्राचार तथा व्यबस्थापन, संस्थापक अध्यक्ष दिपीन राईको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गठन गरिएको छ ।

त्यसैगरी खाना र मनोरञ्जन व्यवस्थापन उपसमितिसमेत गठन भएका छन् । सोही बैठकले नगरपालिकामा रहेका पत्रकारहरुको तथ्यांक संकलन गरी पत्रकार महासंघको एशोसिएट शाखा निर्माण गर्न पहल गर्ने निर्णय पनि गरेको छ ।

जसका लागि अध्यक्ष कुमार भट्टराई, उपाध्यक्ष रमेश समदर्शी, सचिव प्रेम आचार्य, कोषाध्यक्ष अमित खम्बु र सल्लाहाकार संयोजक दिपीन राईलाई जिम्मेवारी प्रदान दिइएको छ ।

यसैबिच, नगरपालिकाले शुरु गर्न लागेको नगर महोत्सवलाई सफल बनाउन प्रवर्द्धनात्मक तथा प्रचारात्मक सहयोग गर्ने निर्णय पनि गरिएको क्लवका अध्यक्ष भट्टराईले जानकारी दिए ।