अर्जुनधारा । अर्जुनधारा महोत्सवको पूर्वतयारीका क्रममा आइतबारदेखि वडास्तरीय कार्यक्रम सुरु भएको छ । नेपाल भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यले अर्जुनधारा नगरपालिकाको ७ नम्बर वडाबाट सुरु गरिएको हो ।

आइतवार वडा नं. ७ को कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख हरिकुमार रानाले पर्यटन वर्षको उद्देश्यका बारेमा स्पष्ट पारेका थिए । अर्जुनधारा नगरपालिका वडा नं. ७ का अध्यक्ष नवराम ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख कमला खतिवडा आचार्य, प्रशासकीय प्रमुख पंकज भुर्तेल, नेपाली कांग्रेस झापाका सभापति उद्धव थापालगायतको सहभागिता रहेको थियो । ७ नम्बर वडाका सचिव प्रकाश पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य देवकुमार राईले गरेका थिए ।

कार्यक्रम अन्तर्गत कृषि, पशु र स्वास्थ्य शाखाबाट शिविर सञ्चालन गरिएको थियो । स्वास्थ्य शाखाले निःशुल्क स्वास्थ्य शिविर र औषधि वितरण गरेको थियो भने कृषि शाखा र पशु शाखाले पनि परामर्शलगायतका सेवा उपलब्ध गराएको थियो ।

फागुन १५ गतेसम्म हुने वडास्तरीय कार्यक्रम सोमबार १ नम्बर वडामा हुनेछ । नगरका ११ वटा वडामा आयोजना हुने वडास्तरीय कार्यक्रममा प्रत्येक दिन प्रदेश सरकारका मन्त्रीले उद्घाटन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।