अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले आयोजना गर्ने अर्जुनधारा महोत्सवको वडास्तरीय पूर्वतयारी जारी छ । महोत्सवको पूर्वतयारी हेर्न र सेवा लिनेहरुको संख्या बढ्दै गएका छन् ।

पूर्वतयारीका क्रममा सोमबार १ नम्बर वडाको मंगलबारे बजारमा आयोजित कार्यक्रममा किसानहरुले पशुपंक्षीसम्बन्धी परामर्श र माटो परीक्षण, स्वास्थ्य परीक्षणसमेत गराएका थिए । पशुपंक्षी विकास शाखाका अनुसार १६५ गोवर परीक्षण, पशुको उपचार र ९५ जना कृषकहरुलाई पशुसम्बन्धी परामर्श दिइएको थियो । कार्यक्रममा सामाजिक सुरक्षा परामर्श सेवा प्रदान गरेको पशु सेवा प्राविधिक बेनुपकुमार बस्नेतले जानकारी दिए ।

कार्यक्रममा स्वास्थ्य सेवातर्फ ४० जना महिलाले भिआइए टेष्ट, ५७ जनाले सुगर टेष्ट र ७५ जनाले स्क्रिन टेष्ट सेवा लिएको स्वास्थ्य शाखाकी दुर्गा चापागाईले जानकारी दिइन् । स्वास्थ्य शाखाका प्रमुख मुकुन्द बस्नेतका अनुसार ग्रामीण बस्तीमा भिआइए टेष्ट राम्ररी नगरेसम्म रोग च्यापेर बस्नेहरुको संख्या देखिने अवस्था छ ।

अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको १ वडाध्यक्ष गजाधर खतिवडाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नगर उपप्रमुख कमला आचार्य, प्रशासकीय प्रमुख पंकज भुर्तेललगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा पूर्वी किरातहरुको उत्कृष्ट नृत्य साकेला, खस आर्यहरुको मारुनी, मगर जातिको कौरा, लिम्बू जातिको च्याब्रुङ, तामाङको सेलोजस्ता मौलिक नृत्य प्रस्तुत गरिएको थियो । भोलि मंगलबार २ नम्बर वडाको जनता माविमा कार्यक्रम हुनेछ ।