0 Shares

बिर्तामोड । झापाको बिर्तामोडमा एक महिनाअघि सञ्चालनमा आएको पूर्वाञ्चल क्यान्सर अस्पतालले क्यान्सर रोग परीक्षण गर्ने थ्री डी अटोमेटिक मेमोग्राम मेसिन भित्र्याएकाे छ ।

विश्वको स्वास्थ्य क्षेत्रमा स्तन (ब्रेस्ट) क्यान्सर पत्त लगाउनका लागि अतिउपयोगी मानिएको मेमोग्राम पूर्वाञ्चल क्यान्सर अस्पतालले मंगलबारदेखि सञ्चालनमा ल्याएको अस्पतालका निर्देशक दुर्गा प्रसाईले जानकारी दिए ।

अस्पताल परिसरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा यो मेसिन नेपालमै पहिलो भएको दाबी गरियो । महिलाका लागि अत्ति उपयोगी हुने बताउँदै निर्देशक प्रसाईले सहज तरिकाबाट क्यान्सर भए, नभएको पत्ता लगाउन प्रयोग गरिने यो मेसिन ५ करोडको लागतमा भित्र्याइएको बताए ।

थ्री डी प्रविधि भएकाले क्यान्सर छ वा छैन भनेर सहजै परीक्षण गर्नका लागि मेसिन उपयोगी हुने फिनल्यान्डबाट आएका मेमोग्राम स्पेसलिस्ट डाक्टर तापियोले जानकारी दिए । उनका अनुसार यस मेसिनले एकपटकमा ६ वटा इमेज निकाल्न सक्छ ।

मेसिनले विभिन्न ३ चरणमा हुने क्यान्सर रोगकोे परीक्षण गर्ने अस्पतालका डा. वीरेन्द्र यादवले बताए । थ्री डी इमेजबाट क्यान्सर रोग परीक्षण गर्ने मेसिन नेपालका कुनै पनि क्यान्सर अस्पतालमा नभएको उनको भनाइ छ ।

यो मेसिनको परीक्षणबाट ३० सेकेण्डमै स्तनमा भएको क्यान्सर रोग पत्ता लाग्ने दाबी गरिएको छ । अन्य अस्पतालले जडान गरेको टु डी मेसिनबराबर नै शूल्क निर्धारण गरिएको अस्पतालले जनाएको छ ।

क्यान्सर रोगको परीक्षण रोग नहुँदा पनि गर्नुपर्ने डा. यादवको भनाइ छ । उनले परीक्षण किन गर्ने ? भन्दा पनि किन नगर्ने ? भन्ने प्रश्न उब्जिएको सुनाए । केही समयअघि महिलाको पाठेघरको क्यान्सरको जोखिम रहे पनि केही वर्षयता स्तन क्यान्सर १० गुणा बृद्धि भइरहेको तथ्यांक उनले सुनाए ।

डेढ महिनाअघि क्यान्सरको परीक्षण तथा उपचार सुरु गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा हालसम्म ४० जनाभन्दा बढीले उपचार गराएका छन् । मेमोग्राममार्फत मंगलबारमात्र ४ जनाको स्तन क्यान्सरको परीक्षण गरिएको थियो । अहिले क्यान्सर उपचारका लागि जनकपुरदेखि भारतको असामबाट आउने गरेको अस्पतालले जनाएको छ ।