सालबारी । अजुर्नधारा नगरपालिकाले भ्रमण वर्ष २०२० को अवसरमा आयोजना गरेको नगर महोत्सवको वडा वडामा पूर्वतयारी जारी छ ।
नगरले पर्यटन वर्षलाई सघाउ पुर्याउने उद्देश्यले आयोजना गरेको कार्यक्रम सोमबार वडा नं ११ मा सुरु भएको छ । वडा नम्बर ११ मा कला, संस्कृति, साहित्यलगायतका कार्यक्रम गरिएको थियो । स्वास्थ्य शिविर, कृषि, पशु सेवालगायतका वडाबासीलाई सेवा प्रदान गरिएको थियो ।
कार्यक्रममा विभिन्न जातीय नृत्य तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । त्यस्तै खेलकुदका विभिन्न विधाका खेलको छनौट कार्य जारी रहेको छ ।
ज्येष्ठ नागरिक बलिराज इङनामको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको विशिष्ट आतिथ्यता थियो । वडा नम्बर ११ का अध्यक्ष भैरव खड्काको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख कमला खतिवडाले कार्यक्रमको औचित्यमाथि प्रष्ट पारेकी थिइन ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, जनप्रतिनिधि, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधिलगायतकोसहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सदस्य मोहन योगीले गरेका थिए ।
कार्यक्रमको तालिकाअनुसार आज (मंगलबार) अर्जुनधारा १० मा पूर्वतयारी कार्यक्रमअनुसार विविध कार्यक्रम हुने नगरपालिकाले जनाएको छ ।