झापा । बिर्तामोडका विभिन्न क्षेत्रमा जुवाजन्य खेल तीव्र भएको सूचनाका आधारमा प्रहरीले सम्भावित क्षेत्रमा नियमित निगरानी सुरु गरेको हो । प्रहरी निगरानी सुरु भएयताको पहिलो अपरेशनमा बुधवार साँझ प्रहरीले केही जुवाडेलाई बिर्तामोडबाट समातेको छ ।

झापा बिर्तामोडको एउटा जुवाखालमा इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले बुधवार साँझ छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । छापाका क्रममा जुवा खेलिरहेका छ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन । बिर्ताबजार पूर्व मण्डामिल उत्तर कोपिला लिम्वूको घरमा कौडा खेलिरहेको सूचना पाएपछि प्रहरी टोली पुगेको थियो । लिम्वूको घरमा नियमित जुवा खेलाइने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

छापा मारेर प्रहरीले जुवाडेहरुलाई नगदसहित पक्रेको हो । इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मुकुन्द रिजालले घटनाको पुष्टि गर्दै छ जना पक्राउ परेको बताए । घरधनी लिम्वूसहित छ जना समातिएका हुन् । प्रहरीले प्रल्हाद चुडाल, डम्बर मगर, दिपेश क्षेत्री, कान्छा राई र बिशुलाल मेचेलाई नगदसहित पक्राउ गरेको छ । बिर्तामोडका केही प्रतिष्ठित व्यवसायी जुवाखालमा भेटिएका छन् । प्रहरी आएको थाहा पाएपछि कतिपय जुवाडे जुत्ता चप्पल नलगाई भागेका छन् । भाग्नेहरुको पहिचान खुलिसकेको छैन ।

जुवाडेले प्रयोग गरेको एउटा गाडी र सातवटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । जुवाखालबाट नगद नेपाली ९८ हजार र भारतीय एक हजार रुपैयाँ बरामद भएको डीएसपी रिजालले जानकारी दिए । नियमित कौडा खेलिने गरेको सूचनाका आधारमा प्रहरी लिम्वूको घरमा खानतलासी गर्न साँझ पुगेको थियो ।