0 Shares

शनिश्चरे । ‘नेपाल भ्रमण वर्ष २०२०’लाई लक्षित गरी अर्जुनधारा नगरपालिकाले आयोजना गरेको नगर महोत्सव पूर्वतयारी कार्यक्रम ८ नम्बर वडामा पुगेर समापन भएको छ ।

आगामी चैतमा हुने नगर महोत्सवलाई भव्य र सभ्य बनाउन नगरपालिकाले गएको फागुन ४ गतेदेखि नगरका ११ वटै वडामा पूर्वतयारी कार्यक्रम सञ्चालन गरेको थियो । पूर्वतयारी कार्यक्रमअन्तरगत अर्जुनधारा–८ वडा समितिले वडामा रहेका विभिन्न पर्यटकीय स्थलको फोटो प्रदर्शन गरेको छ ।

‘आन्तरिक पर्यटनको प्रवद्र्धन गरौं, नेपाल भ्रमण वर्ष सफल पारौं’ भन्ने नारासहित प्रदर्शन गरिएको फोटोहरुमा सय वर्ष पुरानो जिल्लाकै ऐतिहासिक शनिश्चरे बजार, २००५ सालमा स्थापना भएको जिल्लाकै दोस्रो र नगरको पहिलो शैक्षिक संस्था शनिश्चरे माध्यमिक विद्यालय, महाभारतकालिन झल्को दिने कृष्ण र अर्जुनको प्रतिमालाई समेटिएको छ ।

त्यसैगरी नवदुर्गा भवानी कात्यायनी शक्तिपीठ, शितला दुर्गा पाञ्चायन मन्दिर, सिंहदेवी मन्दिर, सेतीदेवी देवीथान, बौद्ध गुम्बा, देवकोटा पार्क, चिया बगान र रबर बगान रहेको छ । वडामा सुरु भएको पूर्वतयारी कार्यक्रम अन्तर्गत अन्य वडाभन्दा फरक ढंगले आफ्नो वडाभित्र रहेका पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनीमार्फत् जानकारी दिनु राम्रो कार्य भएको सहभागीहरुले बताएका थिए ।

वडाभित्र रहेका पर्यटकीय स्थलको पहिचान र जानकारीसँगै स्वस्तिका शिशु सदनका एनसीसी विद्यार्थीहरुको प्रदर्शन पनि हेर्नलायक थियो । त्यस्तै, सन्थाल जातिको परम्परागत नृत्यलाई विद्यार्थीले प्रस्तुत गरिरहँदा अग्रजहरुले पहिले मनाउँदै आएको चाडपर्वलाई स्मरण गरेका थिए ।

नगरबासीले महसुस गर्ने गरी उनीहरुकै घरदैदैलोमा सेवा पु¥याउन नयाँ योजना निर्माण गरेर महोत्सवका लागि पूर्वतयारी कार्यक्रम आयोजना गरिएको नगरपालिकाका प्रमुख हरिकुमार रानाले बताए । पूर्वतयारी कार्यक्रम सफल भएको उनको दाबी छ । अन्यत्रभन्दा ८ नम्बर वडाको कार्यक्रम सफल पार्नका लागि वडाभित्र रहेका विभिन्न संघसंस्थाले भ्रमण वर्ष सफल पारौँ भन्दै संस्थागत व्यानर प्रदर्शन गरेका थिए ।

नेपाल भ्रमण वर्ष चलिरहँदा वडाले सुरु गरेको उक्त कार्य नगरले आयोजना गर्ने बृहत नगर महोत्सवमा पनि नगरभित्र रहेका विभिन्न पर्यटकीयस्थलको फोटो प्रदर्शनी गर्नु आवश्यक रहेको अर्जुनधारा उद्योग वाणिज्य संघका पूर्व सचिव चर्तुभूज काफ्लेले बताए ।

वडाध्यक्ष गोपीचन्द्र गौतमको अध्यक्षता र पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको प्रमुख आतिथ्या आयोजित सोही कार्यक्रममा नगर प्रमुख हरिकुमार राना, उपप्रमुख कमला खतिवडा आचार्यलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सांस्कृतिक तथा साहित्य प्रतियोगिता सञ्चालन गरिएको वडा सचिव सस्मिता लूँइटेलले बताइन् । उनका अनुसार भोलि (शुक्रबार) खेलकुद विधाका छनौट चरण सुरु हुनेछ । वडा सदस्य एवम् नगर भाषा, कला र साहित्य समितिकी संयोजक सुशिला सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन इन्दिरा दाहालले गरेकी थिइन् ।