0 Shares

दमक । झापाको दमक–६ नयाँ बसपार्क छेउमा बसोबास गर्ने सुकुम्बासी बस्तीमा आइतबार दमक नगरपालिकाले डोजर चलाएको छ ।

महेन्द्र राजमार्गको दायाँ–बायाँ ८२ फिट अवरोध हटाउने क्रममा ८२ फिटभन्दा पछाडि बसोबास गर्ने सुकुम्बासीका घरसमेत नगरपालिकाले भत्काइदिएको हो ।

दमक नगरपालिकाले नमुना बस्तीमा लगेर स्थानान्तरण गर्ने भनिए पनि उनीहरुको नाम टिपेर लगेको तर बसोबासको ग्यारेन्टी नगरेको र ८२ फिटभित्रको अवरोध हटाउने भने पनि अहिले आएर ८२ फिटभन्दा भित्रसम्म डोजर लगाएपछि त्यहाँ स्थानीयहरु आक्रोशित बनेका छन् । सो ठाउँमा ७ घरपरिवारको बसोबास रहेको छ ।

दमक–७ का वडाध्यक्ष भीमप्रसाद पौडेलले चुनावका बेला आफूहरुलाई व्यवस्थापन अथवा क्षतिपूर्ति दिलाइ अन्यत्र ठाउँमा लगेर राख्ने आश्वासन दिए पनि अहिले आएर डोजर लगाएको भन्दै एक महिलाले आक्रोश पोखेकी छिन् ।

दमक नगरपालिकाबाट गठित सडक व्यवस्थापन समितिका संयोजक प्रजापति सापकोटाले भने क्षतिपूर्ति, व्यवस्थापन र स्थानीयहरुको मागबारे आफूलाई जानकार नभएको सोबारे वडाध्यक्ष पौडेल जानकार भएको समेत बताए ।

यसअघि, दमक क्षेत्रका सुकुम्बासीलाई डोजर चलाए कडा आन्दोलन गर्ने भनी विप्लप माओवादीले समेत चेतावनी दिएको थियो ।