शनिश्चरे । महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण जिल्लामा रगत अभाव हुन नदिनका लागि अर्जुनधारा जलेश्वरधाम परिसरमा शनिबार रक्तदान कार्यक्रम गरिएको छ ।

कोभिड १९ अर्जुनधारा सहयोगी टिमको आयोजनामा शनिबार भएको रक्तदान कार्यक्रमबाट ८८ पिन्ट रगत संकलन भएको थियो ।

आयोजकका संंयोजक तारा खतिवडाका अनुसार रक्तदान कार्यक्रममा युवा व्यवसायी, शिक्षक, विद्यार्थी, संघसंस्थाका प्रतिनिधिले रक्तदान गरेका थिए । उनका अनुसार १२ जना महिलाले पनि रक्तदान गरेका थिए । सोही कार्यक्रममा अर्जुनधारा ५ का ओमप्रकाश लुइँटेलले ७१औँ पटक रक्तदान गरे ।

नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रममा अर्जुनधारा प्रेस क्लब, मामा भान्जा कृषि फार्म, इमरजेन्सी रेस्पोन्स सेन्टर, युवा रेडक्रस सर्कल शनिश्चरे बहुमुखी क्याम्पस र शनिश्चरे सुपारी सहकारी संस्था सहयोगी भूमिकामा रहेका थिए ।