काठमाडौँ । प्रत्येक वर्षजसो यस वर्ष पनि प्रायः जिल्लामा फैजी कीराको प्रकोप देखिएको छ । मुलुकभर करिब ४२ जिल्लामा यो कीराले समस्या पारिरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।

‘गत वर्षको तुलनामा कीराको प्रकोप बढेको छ । मुलुकभर ४२ जिल्लामा पुगेको देखिन्छ,’ मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले भने, ‘प्रदेश र जिल्लास्तरबाटै कीरा व्यवस्थापन गरिँदै छ ।’

मकै बालीमा फौजी कीरा संक्रमण बढेपछि प्लान्ट क्वोन्टिन एवं विषादी व्यवस्थापन केन्द्रले सबै प्रदेशसँग विवरण मागेको थियो । तर प्रदेश १ र ५ बाहेक अन्य प्रदेशबाट विवरण आएको छैन । ‘१ र ५ बाट मात्रै विवरण प्राप्त भएको छ,’ केन्द्र प्रमुख सहदेवप्रसाद हुमागाईंले भने, ‘जिल्लाअनुुसार १५ देखि २० प्रतिशतसम्म मकै नष्ट भएको देखिन्छ ।’

प्रदेश १ मा १४ जिल्लाका ३२ हजार ५ सय ४० घरधुरी प्रभावित छन् । उक्त क्षेत्रमा मकैमा घोगा लागेको र वानस्पतिक अवस्थामा फैजी कीरा लागेको केन्द्रको प्रतिवेदनमा उल्लेख छ । ‘प्रदेश १ का सोलुखुम्बु, मोरङ, सुनसरी, भोजपुर, झापा, खोटाङ, तेह्रथुम, धनकुटा, इलाम, ताप्लेजुङ, पाँचथरलगायत १४ जिल्लामा करिब १ लाख २२ हजार ३ सय ९५ हेक्टरमा मकै बालीमध्ये १० हजार ६ सय ३४ हेक्टरमा प्रकोप देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘त्यसमा १५ प्रतिशत क्षति पुगेको छ ।’

प्रदेश ५ मा १० जिल्ला प्रभावित छन् । रुकुममा ८ हजार ७ सय २० हेक्टरमा लगाइएको मकै खेतीमा ८ प्रतिशत नोक्सानी भएको छ । रोल्पामा १४ हजार ५ सय ४५ हेक्टरमा १३ प्रतिशत, प्यूठानमा ६ हजार ७ सय हेक्टरमा लगाइएको खेतीमा ३० देखि ४० प्रतिशत र गुल्मीमा ४ हजार ३ सय १६ हेक्टर खेतीमा १५ प्रतिशत क्षति पुगेको छ ।

अर्घाखाँचीमा १६ हजार ५ सय हेक्टर मकै खेतीमा १५ देखि ४० प्रतिशत, पाल्पामा २ हजार ४ सय २० हेक्टर खेतीमा ४ देखि ५ प्रतिशत, कपिलवस्तुमा ३ सय ५० हेक्टरमा २ देखि ३ प्रतिशत, दाङमा ११ हजार ३ सय २५ हेक्टरमा ३० देखि ४० प्रतिशत, बाँकेमा २ हजार ४ सय ५० हेक्टरमा १५ देखि २० प्रतिशत, बर्दियामा ३ हजार ९ सय हेक्टरमा १५ देखि २० प्रतिशत क्षति पुगेको विवरणमा उल्लेख छ । जानकारका अनुसार फौजी कीरा रातमा मात्रै चल्छ । यो कीरा एक रातमा एक सय किलोमिटर उड्न सक्छ । गर्मी ठाउँमा यो बढी सक्रिय हुन्छ ।

करिब ८० प्रकारको घाँसबालीलाई नोक्सान पुर्‍याउँछ । सबैभन्दा बढी मकैलाई असर गर्छ । कृषि अनुसन्धान परिषद् ९नार्क० का प्रवक्ता मनोज ठाकुरका अनुसार बर्दियामा एकै किसानको ४ रोपनीमा लगाएको मकै फैजीले सखाप पारेको छ । विभिन्न जिल्लाबाट ‘किसान कल सेन्टर’मा थुप्रै गुनासो आएका छन् । तर, समाधान गर्ने उपायमा भने त्यति चासो देखिँदैन । सरकारले विषादी छर्नेसम्बन्धी विषयमा केहीलाई मात्र तालिम दिए पनि अन्य पद्धति अपनाएको छैन ।

गत वर्ष पनि फैजी कीराले अधिकांश ठाउँमा धानबाली नष्ट पारेको थियो । त्यति बेला २० हजार हेक्टरभन्दा बढी धानबाली नष्ट भएको केन्द्रको तथ्यांक छ । यसमध्ये सबैभन्दा बढी प्रदेश ५ मा १९ हजार हेक्टरमा क्षति भएको थियो । तर किसानले क्षतिपूर्तिरराहतसमेत पाएनन् । क्षतिपूर्तिका लागि धानको बिमा अनिवार्य हुनुपर्छ । पञ्जीकृतरसूचीकृत भएका बीउको जातमा बिमा गराए क्षतिपूर्ति पाइन्छ । तर नेपालमा पञ्जीकृत नभएका जातको बिमा हुँदैन । यस वर्ष पनि मकैबाली किराले सखाप पारे पनि किसानले राहत पाउने सम्भावना न्यून छ ।

कीराको प्रकोप हरेक वर्ष बढ्दा किसानकै हकहितमा खोलिएको सरकारी निकाय किसान आयोगले कुनै काम गरेको छैन । कीरा नियन्त्रण गर्न पनि आयोग उदासीन छ । यसबारे सबै व्यवस्थापन प्रदेशबाटै हुने मन्त्रालयका प्रवक्ता केसीले बताए । ‘विषादीहरू उपलब्ध नै छन् । केन्द्रले समायोजन मात्रै गरेको छ,’ उनले भने, ‘व्यवस्थापन स्थानीयरप्रदेशबाटै हुन्छ ।’ कान्तिपुरबाट