झापा । अर्जुनधारा नगरपालिकाले सञ्चालन गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा रहेका ४९ जनाको रिपोट नेगेटिभ आएको छ ।

भारतलगायत तेस्रो मुलुकबाट आइ क्वारेन्टाइनमा रहेका व्यक्तिको एक सातामा दुई पटक गरिएको पीसीआर परीक्षणबाट रिपोर्ट नेगेटिभ आएको हो । असार ३ गते र असार ६ गते दुई पटक स्वाब संकलन गरिएको थियो ।

तर, असार ३ गते गरिएको स्वाब संकलनमा तीन जनाको रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई धरान र गोठगाउँ लगिएको छ । सोही स्वाब संकलनमा रिपोर्ट नेगेटिभ आए पनि संक्रमण पुष्टि भएका व्यक्तिसँग एकै कोठामा रहेका ९ जनालाई भने स्वास्थ्य शाखाले होल्डमा राखेको छ । उनीहरुको पुनः पीसीआर परीक्षण गरिने जनाइएको छ ।

पीसीआर नेगेटिभ आएका व्यक्तिलाई कम्तिमा १० दिन होम क्वारेन्टाइनमा राख्नेगरी आइतबार र सोमबार घर पठाइएको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए । उक्त क्वारेन्टाइनमा सोमबार साँझसम्म ४८ जना रहेका छन् ।