काठमाण्डौ । रोटा भाइरस विरुद्धको खोप नेपालमा आजदेखि प्रयोगमा आउने भएको छ ।

ग्लोबल एलाइन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेशन गाभीको सहयोगमा नेपाल ल्याइएको खोप आजदेखि प्रयोगमा आउने परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डा झलक गौतमले बताउनुभयो ।

पहिलो चरणमा ३ लाख २४ हजार भाइल खोप नेपाल भित्रिएको छ । बिस्तारै आवश्यकता अनुसार अरु खोप पनि नेपाल भित्राउने उहाँले बताउनुभयो । यो खोप देशव्यापी रुपमा प्रयोगमा ल्याइने उहाँले बताउनुभयो ।

केन्द्रबाट प्रदेशमा खोप पठाइसकिएको र प्रदेशले आफू मातहतका जिल्लामा आवश्यकता अनुसार पठाउने उहाँले बताउनुभयो । जिल्लाले आफ्नो नियमित खोप तालिका अनुसार एक वर्ष मुनिका बालबालिकालाई खोप दिनेछन् ।

एक वर्ष मुनिका ६ लाख २० हजार बालबालिकालाई खोप दिइने डा गौतमले जानकारी दिनुभयो । रोटा भाइरसका कारण हुने झाडापखालाका विरुद्ध यो खोप दिन लागिएको हो । यो खोप बच्चा जन्मेको ६ हप्तामा र १० हप्तामा गरी दुई पटक दिने गरिन्छ ।

यो खोप जेठ महिनादेखि सुरु गर्ने सरकारको योजना भए पनि कोरोना महामारीका कारण ढिलाई भएको उहाँले बताउनुभयो ।