बिर्तामोड । झापा बिर्तामोड नगरपालिका ३ करेलाबारीका मिर्गौलापीडित भीमबहादुर नेपालीले आफ्नो उपचारका लागि सहयागको याचना गरेका छन् ।

आर्थिक अवस्था अत्यन्त कमजोर रहेका नेपालीको दुवै मिर्गौला खराब भएको छ । दुवै मिर्गौलाले काम नगरेपछि ५ महिनादेखि नियमित डायलासिस गराउँदै आएका छन् । हप्तामा दुई पटक डायलासिस गर्नुपर्ने भएकाले खर्च जुटाउन गाह्रो भएको पीडित नेपालीले बताए । उनका अनुसार एक पटक डायलासिस गर्न अस्पताल जाँदा ७ हजार रुपैयाँ खर्च लाग्छ । हप्तामा दुई पटक डायलासिस गराउँदै आएको उनले बताए ।

४२ वर्षीय नेपालीको आफ्नो घर भिट्टासमेत छैन । श्रीमती बिताएका उनको एक छोरीमात्र छिन् । छोरीको अभिभावक उनी आफैँ थलिएपछि उपचार खर्च धान्न र बिहान–बेलुकाको छाक टार्न समेत गाह्रो भएको उनले दुःख सुनाए । छोरीसहित उनी अहिले बहिनी–ज्वाँइसँग बस्दै आएका छन् । नेपाली सिलाई कटाईको काम गर्ने गर्थे । उनले भद्रपुरस्थित ओम साई पाथीभरा अस्पतालमा डायलासिस गराउँदै आएका छन् ।

आर्थिक अभावमा नियमित डायलासिस गराउन समेत गाह्रो भएपछि करेलाबारी टोलका स्थानीयले ‘भीमबहादुर नेपाल बचाऊ समिति’ गठन गरेका छन् । कुमार बर्देवाको संयोजकत्वमा गठित समिति मातहत रहने गरी करेलाबारी टोल विकास समितिका अध्यक्ष कुमार कन्दङ्वा संयोजक रहेको तीन सदस्यीय आर्थिक सहयोग संकलन समिति समेत गठन गरिएको छ ।

दुवै समितिका सदस्य तथा करेलाबारीका स्थानीयहरु मिलेर शुक्रबारदेखि आर्थिक सहयोग संकलन गरिरहेका छन् । ‘हामी आफ्नै गाउँबाट आर्थिक सहयोग उठाउन सुरु गरेका छौं । जसले जति सकेका छन् । सहयोग गरिरहेका छन् । आर्थिक सहयोग उठाएर उहाँको डायलासिस गर्नुबाहेक अर्को विकल्प छैन’, टोल समिति अध्यक्ष कुमार कन्दङ्वाले भने । उनले मनकारी दाताहरुलाई समेत सहयोग गरिदिन आग्रह गरेका छन् ।

‘घरमा एक पैसा छैन । हप्तामा दुई पटक डायलासिस कसरी गराउनु ?’, बहिनी गोमा दर्जीले भनिन, ‘हामीलाई हाम्रै परिवार चलाउन गाह्रो भइरहेको छ । खाना र बस्न जेनतेन दिइरहेका छौं । डायलासिस गराउन सक्ने हैसियत हाम्रो छैन ।’ सबैले सहयोग गरिदिए आफ्नो दाजु अझै केही समय बाँच्ने उनले आशा व्यक्त गरिन् ।