ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा हिउँ र पानी छल्नका लागि ट्रस्टको छाना लगाइएको छ ।

हिउँदको समयमा हिउँ र वर्षादको समयमा पानीका कारण पाथीभराको दर्शनमा पुग्ने तीर्थयात्रीलाई असहज हुने गरेको अवस्थालाई दृष्टिगत गरी मन्दिर परिसरमा ट्रस्टवाला छाना लगाइएको हो ।

पाथीभरा परिसरको प्रवेशद्वारदेखि मुख्य मन्दिरसम्म करिव एक सय ७५ मिटर दूरीभित्र पदमार्गमा ट्रस्ट जडान गरी जस्ता पाताको छाना अढाएको हो । प्रदेश १ सरकारको आर्थिक सहयोग र पाथीभरा क्षेत्र विकास समितिको साझेदारीमा ७८ लाख रुपियाँ बढी बजेटको लगानीबाट उक्त ट्रस्टवाला छाना लगाएको बताइएको छ ।

बन्दाबन्दीका कारण दर्शनार्थीको आगमन ठप्प भएको मौका छोपी पाथीभरा क्षेत्रमा ट्रष्टवाला छानासहित विभिन्न संरचना निर्माण गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ।

उपभोक्ता समितिमार्फत संरचनाहरुको निर्माण कार्य गरिएको र निर्माण कार्य करिव सम्पन्न भएको पनि कार्यकारी निर्देशक काफ्लेले जानकारी दिए ।

पाथीभरा दर्शनको मुख्य समयमा एकैदिन हजारौं दर्शनार्थी मन्दिर पुग्ने गर्दछन् । दर्शनको सिजनमा प्रवेशद्वारभन्दा बाहिरदेखि नै लाइनमा बस्नुपर्ने हुँदा वर्षादको समयमा झरी (वर्षा) र हिउँदमा हिमपातले दर्शनार्थीलाई निक्कै समस्या गराउने गरेको थियो ।

ट्रस्टवाला छाना लगाएपछि वर्षा र हिउँले दर्शनार्थीलाई कुनै असर नगर्ने र अब पाथीभराको दर्शनमा उनीहरुलाई सहज हुने भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

यस्तै चालू आर्थिक वर्षमा ट्रष्टवाला छानासहित विभिन्न पाँचवटा योजना कार्यान्वयन गरिएका छन् । समितिका कार्यकारी निर्देशक काफ्लेका अनुसार मन्दिर परिसरभित्रै उपयुक्त प्रविधिको फोहोरमैला विसर्जन गर्ने केन्द्र र तीर्थालुहरु बस्नलाई आश्राम भवन निर्माण गरिएको छ ।

त्यस्तै मन्दिर नजिक ठाडो उकालो रहेको पदमार्गलाई केही सहज हुनेगरी दुईसय ८० मिटर नयाँ पदमार्ग निर्माण गरिएको छ । माथिल्लो फेदीभन्दा तल गुराँसे र बलुडाँडा क्षेत्रका बासिन्दा तथा त्यहाँ पुग्ने तीर्थयात्रीको सुविधाका लागि खानेपानीको ट्याङ्की निर्माण गरिएको छ ।

सबै संरचनाहरु प्रदेश १ सरकार र पाथीभरा क्षेत्र विकास समितिको साझेदारी कार्यक्रममार्फत आर्थिक लगानीमा निर्माण गरिएका हुन् । त्यस्तै गैर सरकारी संस्थाको रुपमा रहेको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिले पनि पाथीभरा क्षेत्रको काफ्लेपाटी र बलुडाँडा बीचको पदमार्ग मर्मतसम्भार गरेको छ ।

पाथीभरामा दुई सिजन गरी एकैवर्ष लाखौं तीर्थयात्री दर्शनमा जाने गरेका छन् । मुख्य सिजन दसैँ र तथा अर्को सिजन चैते दसैँ रामनवमीको समयमा पाथीभरामा तीर्थयात्रीको घुँइचो हुने गरेको छ । यसवर्ष भने बन्दाबन्दीको कारण दर्शनार्थीको आगमन शुन्य रहेको छ ।