काठमाडौं । लगातारको वर्षापछिको बाढी–पहिरो र डुबानका कारण तराई र पहाडका विभिन्न जिल्ला प्रभावित भएका छन् । सयौं मानिस घरबारविहीन भएका छन् ।

बाढी, पहिरोप्रभावित क्षेत्रमा विभिन्न रोगको संक्रमण बढ्ने जोखिम पनि उत्तिकै हुन्छ । तर, यस्तो अवस्थामा जोखिम न्यूनीकरणका लागि सरकारको तयारी भने कमजोर देखिएको छ ।

विश्वसँगै हाम्रो देश पनि कोरोना संक्रमणसँग जुधिरहेका बेला यतिखेरै मुलुक बाढी, पहिरो र डुबानको चपेटामा पनि परेको छ । प्रभावित क्षेत्रहरुमा अन्य सरुवारोगको संक्रमण फैलने डरसमेत बढेको छ । एक साता यतादेखि सुरु भएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थान प्रभावित बनेका छन् ।

डुबानमा परेका स्थानहरुमा मलेरिया, डेंगी, झाडापखाला, टाइफाइड, हेपाटाइटिसजस्ता रोगको संक्रमण फैलने खतरा रहेको भन्दै स्वास्थ्य मन्त्रालयले सचेत गराउँदै आएको छ । ती क्षेत्रहरुमा सर्पदंशको समस्या पनि निकै बढेको छ ।

बाढीका कारण महोत्तरी, झापा, उदयपुर, विराटनगर, रौतहट, सुनसरी, बर्दिया र सिन्धुपाल्चोकलगायतका जिल्ला बढी प्रभावित भएका छन् ।

यस्तै, म्याग्दी, संखुवासभा, रुकुम पश्चिम, तनहुँ, लमजुङ, पर्वत र कास्कीमा पहिरोले धेरै क्षति पुर्‍याएको छ । ती स्थानमा डुबानको डरसँगै संक्रामक रोगहरुको जोखिम बढ्ने खतरा रहेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले डुबानमा परेका स्थानमा पहिलो चरणमा चोटपटकको बिरामी बढी हुने र एक सातापश्चात् झाडापखाला, टाइफाइड, हेपाटाइटिसलगायतका संक्रमण देखिने बताउनुभयो ।

यस्तै, दुई सातापश्चात् लामखुट्टेको वृद्धि हुन गइ यसको टोकाइबाट सर्ने रोगहरु बढ्ने भन्दै यसतर्फ सबै सचेत हुनुपर्नेमा डा। पाण्डे जोड दिनुहुन्छ ।

त्यसो त बर्खायाममा उसैपनि सरुवारोगको खतरा उच्च हुन्छ नै । झन् डुबानमा परेका स्थानमा पानीको माध्यमबाट सर्ने रोगहरु फैलने गर्दछ ।

डुबानमा परेका स्थानमा पानी सुक्दै गएसँगै लामखुटे्को जोखिम बढ्ने गर्छ । गत वर्ष नेपालमा डेंगीका कारण धेरैले ज्यानसमेत गुमाएका थिए ।

महाशाखाका निर्देशक डा पाण्डे डुबानमा परेका स्थानमा स्वास्थ्य सेवा पु¥याउने र ती स्थानका व्यक्तिहरुलाईसमेत थप सचेत हुन आग्रह गर्नुहुन्छ ।

कोरोना संक्रमणका कारण हाल डुबानमा परेका स्थानतर्फ सरकारको कम ध्यान गएकोजस्तो देखिन्छ । कोरोना संक्रमणसँगै अन्य सरुवा रोगको समेत खतरा बढेका कारण यस समयमा थप सतर्क बन्न आवश्यक छ ।

बाढीप्रभावित क्षेत्रहरुमा अहिले स्वच्छ खानेपानीको अभाव देखिएको छ । स्वच्छ खानेपानीको अभावका कारण लाग्नसक्ने अन्य सरुवारोगहरुप्रतिको सतर्कताका लागि स्थानीयस्तरदेखि नै चासो र सक्रियता देखाउन भने ढिलाइ गरिनुहुँदैन ।