झापा । स्थानीय नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बसेर रिपोर्ट नेगेटिभ आएका दुई व्यक्तिले झापाको अर्जुनधारामा शुक्रबार फलफूल वितरण गरेका छन् ।

अर्जुनधारास्थित शनिश्चरे माविको क्वारेन्टाइनमा रहेका व्यक्तिलाई उनीहरुले फलफूल वितरण गरेका हुन् । फलफूल वितरण गर्नेमा अर्जुनधारा ३ की श्रेया गजमेर र ४ का रमेश बुढाथोकी छन् ।

उनीहरु करिब ३ साताअघि भारत र तेस्रो मुलुकबाट काँकरभिट्टा नाकाहुँदै यस क्वारेन्टाइनमा आएका थिए । क्वारेन्टाइनको बसाइपछि रिपोर्ट नेगेटिभ आएपछि उनीहरु घर फर्किएका थिए । दुई साता होम क्वारेन्टाइनमा बसेको भोलिपल्ट नै उनीहरु क्वारेन्टाइनमा फलफूल वितरण गर्न आएका हुन् ।

क्वारेन्टाइनमा रहँदा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवीहरुको व्यवहारले प्रभावित बनेर आफूहरुजस्तै क्वारेन्टाइनमा बस्नेका लागि सम्झेर फलफूल वितरण गर्न आएको उनीहरुको भनाइ छ ।